काठमाडाै- विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेशन) ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नताप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि बढेको छ। विवादित धार्मिक संस्थाको कार्यक्रममा सरकार प्रत्यक्ष सहभागी र सहयोगी बनेको भन्दै पार्टी नेताहरुले सार्वजनिक रुपमै आपत्ति जनाएका छन्।
‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थकोमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन,’ नेता भीम रावलले ट्वीट गर्दै भनेका छन्, ‘शान्तिका नाममा सम्मेलन गर्नेहरुले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नुपर्छ। नभने सरकारले खोजेर भन्नुपर्छ।’ रावलले शीर्ष नेतृत्वलाई राष्ट्रिय हित, कूटनीतिक मर्यादा र परिणामको हेक्का राख्न सुझाएका छन्।
नेकपाका अर्का नेता घनश्याम भुसालले पनि सम्मेलनमा नेताहरुको संलग्नताप्रति आपत्ति जनाएका छन्। ‘विगत केही दिनमा नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो, त्यसको मूल्य यस मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नुपर्नेछ।’
समिटमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आमन्त्रण समितिका संयोजक थिए भने प्रधानमन्त्री केपी ओली र सरकार सहयोगी बनेको थियो। समिटमा नेकपाकै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ अनुपस्थित रहे। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
प्रतिक्रिया