+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभामा प्रचण्डले भने- ‘कम्युनिस्ट पार्टीको शासनमा झैं ड्यामड्याम निर्णय गर्न पाएको भए छिटो विकास हुन्थ्यो’

4KNationalDaily
२०७५ पुष ११, बुधबार १८:१५ बजे

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले अपनाइएको लोकतान्त्रिक प्रणालीका कारण विकासको गति ढिलोढिलो भएको बताएका छन्।

‘लोकतान्त्रिक प्रणाली भनेको छिटोछिटो विकास हुने प्रणाली होइन। कम्युनिस्ट पार्टीको परम्परागत शासन हुन्थ्यो भने ड्यामड्याम निर्णय गरेर, त्यो तरिकाले जान पाएको भए अलिकति छिटो विकास हुन्थ्यो। अहिले जे देखिएन भन्ने भएको छ, यस्तो हुँदैनथ्यो। देखिइसक्थ्यो,’ प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले भने।

उनले प्रणाली, कानुन र ब्युरोक्रेसीलाई मिलाउँछौ भन्दाभन्दा झमेला भएको बताए। ‘यो प्रणालीमा एक महिनामा हुने काम १५/२० महिना लाग्छ’, उनले भने। आफ्नो सम्बोधनमा प्रचण्डले संविधान निर्माण र चुनावका विषयमा चर्चा गरेका थिए। उनले सुझबुझपूर्ण ढंगले तीनै तहको निर्वाचन गर्न सफल भएको बताए।

उनले आफूहरु देशलाई विकास र समृद्धिको नयाँ यात्रामा अघि बढाउन प्रयत्नशील भएको बताएका छन्। प्रचण्डले अहिलेका उपलब्धिहरु शिशु अवस्थामा रहेको बताउँदै त्यसलाई सबै मिलेर सफल बनाउनुपर्ने बताए। ‘जसले जन्मायो, उसले राम्रोसँग हुर्काएन भने अप्ठ्यारो स्थित आउन सक्छ’, उनले भने, ‘यसलाई सफल तुल्याउने जिम्मेवारी सत्तापक्षको मात्रै होइन, प्रतिपक्षीको पनि हो।’

उनले सरकारले गरेका कामको समेत चर्चा गरेका थिए। ‘संविधानको मर्म र भावना अनुसार यो सरकारले मौलिक हकसँग सम्बन्धित कानुनहरु बनायो’, उनले भने। संविधानसँग बाझिएका कतिपय ऐनहरु संशोधन गर्नुपर्ने वा नयाँ बनाउनुपर्ने भएकाले सत्ता पक्ष र प्रतिपक्षको साझा दायित्व भएको उनले बताए।

‘स्थिर सरकार बन्ने अवस्था भएपछि जनताको आशा र आकांक्षा बढेको छ। तर हाम्रो अगाडि चुनौती छ भने, कर्मचारी समायोजनका कुरा, आवश्यक ऐन बनाउने कुरा बाँकी नै छ’, उनले भने।

जनताले सोचेजस्तो विकास र समृद्धिको गति तीव्र भएन भन्ने आफूहरुला थाहा भएको उनको भनाइ थियो। राष्ट्रको साझा एजेन्डा विकास र समृद्धि भएको चर्चा गर्दै उनले थपे, ‘यो एउटा ऐतिहासिक अवसर हो, यो अवसरलाई हामीले सदुपयोग गर्नैपर्छ। यो पटक पनि विकासलाई गति दिन सकेनौं भने र समृद्धिलाई अगाडि बढाउन अनि के होला भनेर सोच्यौं भने नराम्रो चित्र नै अगाडि नै आउँछ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily