+
Search

ताजा अपडेट +

पपुलर +

महिला कामदार श्रम स्वीकृति प्रकरण : अध्यागमनका कर्मचारीमाथि अख्तियारको छानबिन

4KNationalDaily
२०७५ पुष २५, बुधबार १५:२९ बजे

काठमाडौं- बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीको सेटिङमा प्रतिबन्धित देशमा महिला कामदार(हाउसमेड)लाई पठाइएको बिषयमा अख्तियारले छानबिन गरिरहेको छ । बैदेशिक रोजगार कार्यालयको छानबिन सकी मुद्दा दायर गरेको अख्तियारले अध्यागमन कार्यालयबाट ती महिला कसरी उडे भन्ने बिषयमा छानबिन गरिरहेको स्रोतले बताएको छ ।

अख्तियारले बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयबाट १ सय ८४ महिला कामदारलाई कुवेतका लागि श्रम स्वीकृति दिने २५ कर्मचारीविरुद्ध २०७५ कात्तिक ९ मा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका तत्कालीन प्रमुख तेजराज पाण्डेको सेटिङ अनुसार ती महिला कामदारलाई श्रम स्वीकृति दिइएको भए पनि उनीबिरुद्ध मुद्दा दायर गरिएको छैन । अख्तियारले शाखा अधिकृतहरू हरिप्रसाद देवकोटा, दीपककुमार आचार्य, गणेश विक्रम शाह, दिनेश कुमार राई, पवित्रा श्रेष्ठ, रामप्रसाद ओली विरुद्ध मुद्दा दायर गरेको छ ।

त्यसैगरी नासुहरू अमरराज जोशी, विष्णुहरी निरौला, दिलबहादुर खत्री, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भूषाल, नरेन्द्रप्रसाद गौतम, रविन्द्र घिमिरे, रघुनाथ केसी, योगेन्द्र खत्री, केशवराज ढुंगानालाई पनि मुद्दा चलाएको छ । कम्प्युटर अपरेटरहरू चक्रबहादुर पराजुली, डम्बरबहादुर विश्वकर्मा, धनवीर सिंह भाट र राजकुमार शाही समेत २५ जनालाई मुद्दा चलाइसकेको छ ।

मिलेमतो र घुसखोरीका आधारमा महिला कामदारलाई श्रम स्वीकृति दिइएको छानबिनका क्रममा खुलेपछि अख्तियारले मुद्दा दायर गरेको थियो । विचौलियाको मिलेमतोमा विना भिसा र गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरेको आरोपमा मुद्दा दायर गरिसकेपछि अध्यागमन कार्यालय एयरपोर्टका कर्मचारीमाथि छानबिन गरिरहेको खबर छ ।

विनाभिसा र गलत कागजातका आधारमा ती महिला कामदारलाई कुवेत उडाउने काम अध्यागमनका कर्मचारीहरूले गरेका थिए । अध्यागमन कार्यालयका कर्मचारीको मिलेमतोविना प्रतिबन्धित मुलुकमा महिला कामदार जान संभव नभएकाले अख्तियारले गम्भीरतापूर्वक छानबिन गरिरहेको थाहा भएको छ ।

अध्यागमन कार्यालय र बैदेशिक रोजगार विभागको सेटिङमा ती महिलालाई उडाइएको तथ्य खुलिसकेको छ । अख्तियारले अनुसन्धान टुंग्याइसकेकाले अध्यागमन कार्यालयका कर्मचारीहरूविरुद्ध पनि विशेष अदालतमा केही दिनभित्रै मुद्दा दर्ता हुने स्रोतको दाबी छ ।

साँघु साप्ताहिकबाट

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily