गाेरखा- राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले वर्तमान सरकार सत्ता पक्षकै कारणले ढल्ने दावी गरेका छन् । नेपाल प्रेस युनियन गोरखाले बिहिबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले सरकारको पछिल्लो काम कारबाहीले सत्ता पक्षका नेता कार्यकर्ता नै चिडिएको बताएका हुन् ।
‘सरकार हामीले ढलाउनै पर्दैन, अब हेर्दै जानुस्, आफ्नै कार्यकर्ताले ढलाउछन्’ उनले भने ‘सरकारको दम्भ एक्कासी बढेर गएको छ, सरकारको रवैयाले सत्तापक्षमा नै असन्तुष्टीका चाँङले भरिएको छ ।’
सरकार पूर्ण रुपमा असफल भइसकेको बताउदै नेता पाण्डेले हत्या हिंशा, भ्रष्ट्राचारी, बलत्कारी लगायतको संरक्षक सरकार आफै भएको आरोप लगाएका छन् । ‘सरकार असफल भइसकेको छ, निर्मला पन्त, वाइडवडी लगायतमा भएको भ्रष्ट्राचार, मुल्यबृद्धि , असुरक्षा, तस्करी लगायतमा सरकारी पक्षबाटै संरक्षण भइरहेकोछ, यो कुरा आम समुदायले बुझिसकेका छन्’ नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका पाण्डेले भने ‘हाम्रो चहाना त सरकारले ५ बर्ष ढुक्कसंग काम गरोस भन्ने हो तर आफ्नै कारणले सरकार गिर्दै गइरहेको छ ।’
दुई तिहाईको दम्भले सरकार छाडा हुदै गएको दावी गर्दै पाण्डेले कर्मचारीदेखि न्यायालयसम्मलाई पेलेर अघि बढिरहेको बताएका छन् । आफुहरु रचनात्मक प्रतिपक्षको भुमिकामा रहेको उनले बताए । ‘दुई तिहाईको दम्भले सरकारलाई छाडा बनाएको छ, सबै क्षेत्रलाई पेलेर अघि बढ्ने संकेत देखिसकिएको छ’ पाण्डेले भने ‘सरकारको अपारदर्शी रुपलाई भण्डाफोर अब काँग्रेसले गर्छ ।’
प्रतिक्रिया