काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइएको प्रति चासो व्यक्त गरेका छन्। राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई तुरुन्त पहिले झैँ चल्न दिन निर्देशन दिएका हुन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रम ओलीले मन्त्री महासेठलाई जनताको जीवनसँग जोडिएको विषयलाई यसरी हचुवाको भरमा निर्णय किन गरेको भनी सोधेका थिए। उनले मन्त्री महासेठलाई निर्णय सच्याएर तत्काल पहिले झैँ चल्न दिन पनि निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले ओलीले ‘मोटरसाइकलमा पछाडि बसेर, साथी हिँड्यो कि श्रीमती हिँड्यो कि भाइ हिँड्यो कि को हिँड्यो । अब हरेकलाई रोकेर सोध्न थालेपछि मान्छे गन्तव्यमा पुग्दैन । रिसाउन थाल्छ’, उनले भने, ‘त्यस्ता खालका कुरामा सरसल्लाहबिना फ्याट फ्याट आदेश, निर्देशनहरुतिर नजाउँ । यो कहाँ कहाँबाट भएको छ, तुरुन्तै साथीहरूले चाँहि स्टप गर्नुहोस अहिले । जे व्यवस्था गर्नुपर्छ पछाडि गरौँला । तत् सम्बन्धमा कानुन हुनपर्यो, व्यवस्था हुनुपर्यो ।’
प्रधानमन्त्री ओलीले जनताको जीवनसँग जोडिएको यस्ता विषयलाई हचुवाको भरमा रोक्ने निर्णय गर्नु गलत भएको भन्दै कारबाही रोक्न निर्देशन दिएका हुन । सरकार आफैँ प्रविधिमैत्री बन्ने बाटोमा गइरहेको अवस्थामा यो अस्वभाविक भएको भन्दै प्रधानमन्त्री ओलीले कानुन बनाएर बिधि बसाल्नुपर्नेमा जोड दिएका छन । सामाजिक सञ्चालमा प्रहरी कारबाहीको विषयलाइ लिएर तीब्र असन्तुषटि व्यक्त भएको थियो ।
प्रतिक्रिया