गलकोट- नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले विकास र समृद्धिका लागि अर्थ नीति र राजनीति एउटै धारमा जानुपर्ने बताएका छन् । ।
नयाँ शक्ति नेपालले शुरु गरेको जनसंवाद यात्रा अन्तर्गत शनिबार बागलुङमा आयोजित अन्तर्क्रियामा बोल्दै उनले सरकारले अर्थ नीति र राजनीतिको संयोग मिलाउन नसकेकोले विकास र समृद्धि ठिक ढंगले हुन नसकेको बताएका हुन् ।
‘स्थानीय तहलाई दिइएको २२ वटा अधिकार सहिदको रगतले लेखिएको अधिकार हो, कसैले खोस्ने दुस्साह नगरुन्’, उनले भने । वर्तमान सरकारले संघीयताको कार्यान्वनमा आनाकानी गरिरहेको स्थानीय जनप्रतिनिधिले गुनासो गरिरहेको स्मरण गर्दै उनले आन्दोलनका उपलब्धिबाट पछाडि नहट्न चेतावनी दिए ।
‘प्रधानमन्त्री वा कुनै अमूक व्यक्तिले अड्कलेर अधिकार दिने व्यवस्था संघीयता होइन,’ उनले भने, ‘यसलाई पञ्चायतकालको विकेन्द्रीकरणजस्तै राजामहाराजा वा शासकको निगाहमा दिइने अधिकारमा खुम्च्याउने दुस्साहस कसैले नगरुन् ।’
समृद्धिको प्रमुख आधार सडक भएकोले पहाडी क्षेत्रको विकासको लागि आफूले मध्यपहाडी लोकमार्ग सुरु गरेको उनकाे भनाइ थियाे । ‘चीनले बिआरआईमा अतिरिक्त पुँजी लगानी गरिरहेको छ, हामी जहाँ गए पनि समृद्धिको पहिलो पूर्वाधारको रुपमा सडकलाई लिएको पाइन्छ,’ उनले भने ‘सडकले आवतजावत र संसर्ग बढाउँछ । यसले आर्थिक गतिविधिमा पनि तीव्रता ल्याउँछ ।’
संयोजक भट्टराईले आफू प्रधानमन्त्री हुँदा २ वर्षसम्म बजेट ल्याउन नदिए पनि रकम स्थानान्तरण गरेर राष्ट्रिय गौरवको योजना पनि सुरु गरेको जानकारी दिए ।
फ्रान्सेली राज्यक्रान्ति हुँदा नेपालमा बहादुर शाहले बाइसे चौबिसे राज्य एकीकरणको काम गरिरहेको उदाहरण दिदै नेपालमा जनयुद्ध अनावश्यक होइन, बरु ढिलोगरी भएको धारणा राखे ।
मुलुकमा समृद्धिको लहरभन्दा प्रकरण र काण्डको लहर आइरहेको उल्लेख गर्दै उनले भने, ‘यसले देशलाई बरबादीतिर धकेलिरहेको छ । असल राजनीतिबिना सुशासन हुँदैन । सुशासनबिना विकास र समृद्धि सम्भव हुँदैन ।’ कमिशन, सूद्खोर, जमिनको विचौलिया फष्टाउँदा प्रगतिशील पुँजीवाद पछाडि परेको उनको बुझाई थियो ।
प्रतिक्रिया