+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीले भने ‘वाइडबडी विमान खरिद प्रकरणमा मन्त्री अधिकारी निर्दाेष थिए’

4KNationalDaily
२०७५ फाल्गुन १७, शुक्रबार १७:२२ बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारी वाइडबडी विमान खरिद प्रकरणमा निर्दाेष भएको दावी गरेका छन्। मन्त्री अधिकारीको निधनमा शोक प्रस्ताव पारित गर्न बसेको नेकपा संसदीय दलको बैठकमा उनले यस्तो दावी गरेका हुन्।

‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न’ उनले भने, ‘तर, अत्यन्तै अनुचित ढंगले वहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले वहाँलाई बद्नाम गर्न खोजे, जो सम्पूर्ण रुपमा निराधार कुरा हो।’

वाइडबडी खरिदको निर्णय अधिकारीले नगरेको बताउँदै प्रधानमन्त्री ओलीले वाइडबडी खरिदको निर्णय अधिकारी मन्त्री हुनुभन्दा पहिले नै भएको स्पष्ट पारे।

‘तर पनि नेपाल यस्तो देश भएको छ, जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाइन्छ’ उनले भने, ‘सत्यलाई ढाकछोप गर्ने त्यस्तो प्रवृति र रुची भएका मान्छेहरु यहाँ छन्, यहाँ त्यस्तो धन्दा पनि चलिरहेको छ।’

वाइडबडी विमान खरिदका बारेमा स्व अधिकारीलाई आरोप लगाउनु दुखद भएको बताउँदै अधिकारीजस्तो कर्मठ, क्रियाशील व्यक्तिलाई अनुचित ढंगले आरोप लगाउने र अपमान गर्ने काम भएकोमा दुखेसो गरे।

नागरिक उड्डयनको क्षेत्रमा मन्त्री अधिकारीले देखिने गरी असाधारण काम गरेको बताउँदै ओलीले छ वटा विमास्थलमा रात्री उडान सञ्चालन गर्ने, धनगढी,बिराटनगर र चन्द्रगढी बिमानस्थलको काम अघि बढाउने कुरा अधिकारीकै सक्रियतामा भएको स्पष्ट पारे।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने, प्राविधिक प्रतिवेदन आएपछि आफैँले हेरेर आउने भनेर मन्त्री अधिकारी त्यसतर्फ गएको पनि ओलीले बताए।

‘तेह्रथुमको चुहानडाँडामा इन्जिनियरिङ सर्भे आदिबाट उपयुक्त ठाउँ छ , निर्माण गर्न सकिन्छ भन्ने रिर्पोट आइसकेपछि आफैँ गएर हेर्ने र आफैँले हेरेपछि उपयुक्तता,अनुपयुक्तता छुट्याउने भनेर वहाँ जानुभएको थियो’ ओले भने, ‘ढिलोमा तीनबर्ष भित्र सो ठाउँमा बिमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य थियो।’

मन्त्री अधिकारी विमानस्थलहरुको अध्ययन भ्रमणकै क्रममा हिजो बिहीबार (१६ फागुन) जर्मनीको म्युनिखमा जाने कार्यक्रम रहेको खुलाशा पनि ओलीले गरे।

‘हिजो वहाँ बर्लिन जर्मनीतर्फ उड्दै हुनुहुन्थ्यो, त्यहाँ जानुको पनि कारण थियो’ त्यो कारण खुलाउँदै ओलीले भने, ‘म्युनिख एयरपोर्टसँग भगिनी सम्बन्ध स्थापित गर्ने, व्यवस्थित ढंगको एयरपोर्ट ह्याण्डिलिङ बनाउने, वहाँहरुसँग सहकार्य गर्ने वहाँले योजना बनाउनु भएको थियो।’

अधिकारीको निधनले पार्टी,सरकार र देशले एक कुशल नेता,मन्त्री र नागरिक गुमाएको बताउँदै प्रम ओलीले दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको योगदानको पनि चर्चा गरे। ओलीको भनाईमा, आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एकजना हस्ती थिए।

दुर्घटनामा निधन भएका उपसचिव युवराज दाहाल विकासलाई बिभिन्न कोणबाट बिष्लेषण्रे र योजना बनाउन सक्ने व्यक्ति भएको बताए। सो दुर्घटनामा निधन भएका अन्य व्यक्तिहरु आआफ्नो क्षेत्रका दिग्गज भएको प्रधानमन्त्री ओलीको भनाइ थियो।

संसदीय दलको सो बैठकले दुर्घटनामा निधन भएकाहरुप्रति शोक प्रस्तव पारित गर्नुका साथै मृतकका परिवारको लालनपालनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily