+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड र राउतको तुलना हात्ती र हात्तीछाप चप्पल जस्तै : बाबुराम भट्टराई

4KNationalDaily
२०७५ चैत्र ४, सोमबार १६:४७ बजे

काठमाडौं- नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा अाेलीकाे एकल निर्णयले सेना परिचालन गर्न सक्ने व्यवस्थायुक्त विधेयकमाथि प्रश्न उठाएका छन्। उनले त्यस्तो व्यवस्था सैन्य ‘कू’लाई आमन्त्रण भएको बताए।

संसदीय व्यवस्थामा प्रधानमन्त्रीले सबै अधिकार आफूमा केन्द्रित गर्न नपाइने डा भट्टराईको भनाइ छ। ‘संसारभर कहीँ पनि यस्तो चलन छैन’, सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।

‘सुरक्षा परिषद्मार्फत नै सेना परिचालन गर्ने संसारभरिको प्रचलन छ’, उनले भने, ‘अहिले बनाइएको विधेयकमा सुरक्षा परिषद्को बैठक बस्न नसक्ने अवस्थामा प्रधानमन्त्री आफैंले सेना परिचालन गर्न सक्ने प्रावधान राखिएको छ। सुरक्षा परिषद्को पनि बैठक बस्न नसक्ने कस्तो परिस्थितिको परिकल्पना गरिएको हो? यो सिधै सेनालाई लथालिंग पार्ने र आफूलाई मन परेको मान्छे टिप र ‘कू’ गर भन्ने अर्थ लाग्छ।’

सुरक्षा परिषद्को बैठक बस्नै नसक्ने हास्यास्पद परिकल्पना गरेर प्रधानमन्त्रीले वैधानिक कू गर्ने बाटो राखिएको उनले बताए। उनले यो प्रयास निरंकुश शासक बन्ने बाटो भएको बताए।

प्रचण्ड र राउतको तुलना हात्ती र हात्तीछाप चप्पल जस्तै

प्रधानमन्त्री केपी ओलीले प्रचण्ड र सिके राउतबीच तुलना गरेकोमा पनि भट्टराईले असन्तुष्टि जनाएका छन्। ‘प्रचण्ड र हामी अहिले अलग ठाउँमा छौं। तर प्रचण्ड भनेका जनयुद्धको नेतृत्व गरेर आएका मान्छे हुन्। हामीले सम्झौता गरेर नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको बिन्दुमा पुर्‍याएका हुन्।

प्रचण्ड र सिके राउत उस्तै हुन् भन्ने हो?’ उनले असन्तुष्टि व्यक्त गरे, ‘राउतले पृथकतावाद छाडेका हुन् भने आत्मसमर्पण गरेका हुन्। प्रचण्ड र बाबुरामले आत्मसमर्पण गरेका होइनन्। हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हुन् भन्दिने?’

नेपाल लाइभबाट साभार

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily