काठमाडाैं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा पुनः वकालत गरेका छन्।
कांग्रेस महामन्त्री कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सारे।
बुधबार काठमाडौंको टोखास्थित आफ्नै निवासमा होलीको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले धेरैजसो हिन्दु धर्मालम्बीहरुले सांसदमा निर्वाचित गराएकाले पनि उनीहरुको माग अनुसार आफूले हिन्दु राज्यको पक्षमा अडान लिएको पनि स्पष्ट पारे।
राज्य धर्म निरपेक्ष र सापेक्ष दुबै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दबाब दिन पनि सबैलाई आह्वान गरे। उनले आफ्नो पार्टी जनताले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार रहेको पनि स्पष्ट पारे।
फरक प्रसंगमा महामन्त्री कोइरालाले पार्टीको विभागहरु तत्काल गठन गर्न पनि सभापति शेरबहादुर देउवाकाे ध्यानाकर्षण गराए। कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन आग्रह गरे।
कम्युनिष्टहरु एकजुट भएका बेला पार्टी भित्रको एकता नहुने हो भने आगामी निर्वाचनमा पनि कांग्रेस विजयी हुन नसक्ने महामन्त्री कोइरालाको बुझाई छ।
महामन्त्री कोइरालाले पार्टी भित्रको एकताको पक्षमा आफूले पहल गर्दै आएको पनि स्मरण गराए।
प्रतिक्रिया