रसुवा– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) र वातावरणीय प्रभाव अध्ययन मूल्याङन (इआइए)का लागि अबदेखि ५० दिनभन्दा बढी नलाग्ने घोषणा गरेका छन्।
वन तथा वातावरण मन्त्रालयलाई विकासविरोधी मन्त्रालयका रूपमा बुझिने गरिएको भन्दै उनले परिवर्तन ल्याउने प्रतिबद्धता उनले जनाएका हुन्।
‘अब आइइई र इआईएका कारण विकास आयोजनामा ढिलाई हुने छैन,’ रसुवाको धुन्चेमा गोसाईंकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा शनिबार संयुक्त रुपमा आयोजित २४औं वन्यजन्तु सप्ताह समापन तथा पालिक भ्रमण वर्ष कार्यक्रममा मन्त्री बस्नेतले भने, ‘इआईए र आईइको काम ५० दिनमा सक्ने गरी तयारी गरिरहेका छौं, अब त्यो काममा ५१ दिन लाग्न दिन लाग्नेछैन।’
वन मन्त्रालयका कारण विकासका काममा ढिलाई वा अवरोध भयो भन्ने गुनासो आउन नदिने प्रतिबद्धता उनले गरे। सरकारले समृद्धिको अगुवाई गरिरहेको चर्चा गर्दै मन्त्री बस्नेतले समृद्धिको यात्रामा आमजनता सरिक नभएसम्म नतिजा नआउने प्रष्ट पारे।
विकासका काममा सरकार र प्रतिपक्षको भावना राख्न नहुनेमा जोड दिँदै मन्त्री बस्नेतले सरकारबाहिर रहेका दल र शक्तिलाई पनि सहकार्यका लागि अपिल गरेका थिए। ‘समृद्धि हामी सबैको साझा एजेन्डा हो,’ उनले भने, ‘यो वा त्यो बहानामा फरक बाटो हिंड्न जरुरी छैन।’
मन्त्री बस्नेतले रसुवाको गोसाईंकुण्ड क्षेत्रमा पाइने रेड पाण्डा संरक्षण गर्ने सके स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिने भएकाले त्यसमा लाग्न स्थानीय सरोकारवालासँग आग्रह गरेका थिए।
प्रतिक्रिया