काठमाडौं– २०७२ साल बैसाख १२ मा गएको भूकम्पका कारण क्षतिग्रस्त भएका निजी आवासका भवनहरूमध्ये २० प्रतिशत घरहरू निर्माणको कुनै पनि चरणमा प्रवेश गर्न सकेको छैनन्।
निर्माणको चरणमा गइसकेका बाँकी ८० प्रतिशत घरहरूमा ५० प्रतिशत भवन पुनर्निमाण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
भूकम्प र त्यसपछिका पराकम्पका कारण भएको संरचनाहरूमा भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनामा प्राधिकरणले गरेको उपलब्धिका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत प्राधिकरणले ५० प्रतिशत निजी आवास निर्माण सम्पन्न भइसकेको जानकारी दिएको हो।
निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धि हासिल भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।
निजि आवास निर्माणका लागि अनुदान सम्झौता भएका ७ लाख ६२ हजार ३ सय ७ घरपरिवार मध्ये ६ लाख १२ हजार ९ सय ३५ घर परिवार पुर्ननिर्माणको प्रकृयामा रहेका छन्।
त्यसमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २ सय ७७ परिवारले घर पुर्ननिर्माण सम्पन्न गरी आ–आफ्नो घरमा प्रवेश गरिसकेका छन्।
निर्माणको प्रक्रियामा गएका बाँकी ३० प्रतिशत अर्थात २ लाख ३० हजार ६ सय ५८ परिवार पुर्ननिर्माणको क्रममा रहेका छन्।
प्रतिक्रिया