काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिना भित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने बताएका छन् । गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले केही सम्पदा बाहेक निजी आवास र सरकारी भवनहरु यस अवधीमा निर्माण भइसक्ने बताए। ‘अबको २० महिना भित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न भइक्छन्’ उनले भने । उनले पुनर्निर्माणमा कुनै विवाद नझिक्न आग्रह गरे । ‘भूकम्पपछिको पुनर्निर्माणका क्रममा कुनै पनि विवाद झिक्नु आवश्यक छैन र हाम्रो ऐतिहासिकतालाई पनि तोडमोड गर्नुहुदैन ।’
प्रधानमन्त्री ओलीले नेपालीहरुलाई बहादुरीले मात्र होइन विद्वताले पनि चिनाउनु पर्ने बताए । ‘नेपालीहरु विद्वान पुर्खाका सन्तान हुन् । हामीलाई संसारले बहादुर भनेर मात्र चिन्यो तर हामीले नेपालाई विद्वानहरुको देश भनेर पनि चिनाउनु पर्छ’ उनले भने ।
प्रधानमन्त्री ओलीले पुनर्निमाण भइरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, बसन्तपुर क्षेत्रको काष्ठमाण्डप लगायतका विभिन्न मन्दिरहरुको निरक्षण गरेका थिए । उनले बसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको पनि उद्घाटन गरे । प्रधानमन्त्रीले पुनर्निर्माण प्रधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवाली र काठमाण्डौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई यस क्षेत्रका पुनर्निर्माण गर्दा मौलिकता जोगाउन समेत निर्देशन दिए ।
प्रतिक्रिया