काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कसैले कल्पना नगरेको काम अहिलेको सरकारले गरेको बताएका छन् ।
मजदुर दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ओलीले भने, ‘विगतका सरकारले कल्पना नगरेको काम भएको छ। यो एक वर्षमा मानिस विदेश गएका हुन् र ? मैले गरिब बनाएको हो र ?’ नयाँ प्रणाली भएकाले केही समस्या भएको उनको भनाइ थियो ।
सरकारले राम्रो काम गर्न थालेपछि राजपाले समर्थन फिर्ता लिएको आरोप उनले लगाए । सरकारलाई समर्थन फिर्ता गर्ने होइन, समर्थन गर्न उनले आग्रह गरे । ‘राजेन्द्र महतोलाई सोध्न चाहन्छु– सीमाना नाका बन्द गरेर मुलुक बन्छ रु इन्धन बन्द गरेर, नागरिकलाई दुःख दिएर मुलुक बन्छ ?’ जायजलाई जायज भन्न नसक्ने, आलोचना गर्ने रोग केहीलाई लागेको उनले बताए ।
महतो भनछन् ‘नाराले मुलुक बन्दैन प्रधानमन्त्रीजी ?’
कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले श्रमिक नै देशका भाग्य निर्माता भएको तर उनीहरु नै देश छाडेर हिँड्नुपरेको बताए ।
‘सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लगाउँछ, देशका उद्योगधन्दा कलकारखाना बन्द भइसके । बहुराष्ट्रिय कम्पनी मुलुक छाडेर भाग्दैछन् । उद्योगधन्दा खोल्नूस्, मुलुक छाडेर बाहिरिएका श्रमिक फर्काउनूस्,’ महतोले भने, ‘नाराले मुलुक बन्दैन प्रधानमन्त्रीजी ?’
प्रतिक्रिया