गाेरखा- विगत केहि समय यता गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आयोजनामा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमहरु विभिन्न जिल्लाहरुमा संचालन हुँदै आएको पाइएको छ ।
जिल्लाकाे अजिरकोट गाउँपालिका-५, मुच्चोककाे चतुर्माला माध्यमिक बिद्यालयका कक्षा ८ देखि कक्षा १० सम्मका छात्र छात्राहरुलाई स्वास्थ्यकर्मीहरुद्वारा विभिन्न प्राथमिक उपचारका आपतकालीन उपायहरू बारे बताइएको छ ।
एक्कासि सर्किने, अति रक्तस्राव, हृदयघात, बेहोस हुने तथा सङ्घात (अति दुखाइ) जस्ता जटिल स्वास्थ्य समस्याहरूलाई घटनास्थलमा नै सि पि आर लगायत प्राथमिक उपचारका विभिन्न उपायहरु अवलम्बन गरि एक जनाले ५ जनाको जीवन बचाउन सकिन्छ भन्नेमा आश्वस्त पारिएको छ ।
जसबाट हाम्रो समाजमा आईपर्ने अनेकन आपतकालीन घटनाहरु जस्तैः रक्तस्राव, संघात, स्वास मार्गमा सर्किनु, हृदयघात, बेहोस आदिबाट स्वास्थ्य संस्थामा पुग्नु अघि नै मृत्यु हुनबाट न्यूनीकरण गर्न तथा आपतकालीन अवस्थामा जीवन बचाउन वा थप हानी हुनबाट समेत बचाउन सकिने बिधिहरुको हस्तान्तरण भएको छ ।
गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट सन्चालन भएको `विद्यालय स्वास्थ्य कार्यक्रम´लाई विगत वर्षहरुमा भन्दा नितान्त फरक ढंगले संचालन गरिएको छ ।
यसैगरी विद्यालमा वानेश्वर बहुमुखी क्याम्पस, मानविकी सङ्काय, स्नातक तह दोस्रो र तेस्रो वर्षमा समाजकार्य विषय अध्ययनरत विद्यार्थीहरुले पनि विद्यालयमा महिला स्वास्थ्य (महिनावारी) सम्बन्धि एक अभिमुखिकरण कार्यक्रम सन्चालन गरि केहि सामग्रीहरु समेत वितरण गरेका छन् । बानेश्वर बहुमुखी क्याम्पसबाट विद्यार्थी सन्जु ढकालको नेतृत्वमा एक टोलि आई विभिन्न विद्यालयहरुमा यस्ता कार्यक्रमहरु सन्चालन गर्दै आएको बताइएको छ ।
प्रतिक्रिया