काठमाडौं- नयाँ शक्ति विद्यार्थी युनियनले पक्राउ परेका विद्यार्थी नेतालाई रिहाई नगरिए त्रिवि सेवा आयोगको खारेजीको लागि आन्दोलन गर्ने चेतावनी दिएको छ । संगठनका उपाध्यक्ष रुपनारायण श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।
‘अहिले मुलुकमा व्याप्त आसेपासे पुँजीवाद मौलाइरहेकाे र राज्यको संयन्त्रमा दलीय भागवण्डाबाट राम्रो र उत्कृष्ट मानव स्रोत व्यवस्थापन भन्दा पनि दल र कार्यकर्ता र आफन्तलाई सबैतिर नियुक्ति गर्दै जाँदा आम नागरिकप्रति घोर अन्याय भइरहेको छ,’ श्रेष्ठले भनेका छन् ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मुलुककै जेठो र महत्वपूर्ण विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा भर्खरै सार्वजनिक भएको कर्मचारि नियुक्तिको विषयले हाम्रो संगठनलाई गम्भीर बनाएको छ । राज्यको निकायहरुमा यसरी नै दलीय भागबण्डा र आफन्तलाई कर्मचारी नियुक्ति गर्ने प्रक्रियाले आम नागरिकलाई आन्दोलनमा जान बाध्य बनाउँदै छ ।’
यही अवस्थाको विरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीलाई प्रहरी दमन गरी पक्राउ गरेको भन्दै उपाध्यक्ष श्रेष्ठले उनीहरुको तत्काल रिहाईको माग गरेका छन् ।
‘हाम्रो संगठनको केन्द्रीय सचिव हेमराज थापाको नेतृत्वमा त्रिवि सेवा आयोगमा भएकाे आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी नेताहरुलाई गिरफ्तार गरेर हामीलाई थप उत्तेजित बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तार भएका नेताहरुलाई सम्मानपूर्वक तुरुन्तै रिहाई गर्न जोडदार माग गर्दछौं, अन्यथा दलीय कार्यकर्ताबाट नियुक्त भएका त्रिवि पदाधिकारीहरुलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउँदै त्रिवि सेवा आयोगलाई नै विघटन गराउनेसम्मको आन्दोलन गर्न बाध्य हुनेछौं ।’
विज्ञप्ति
प्रतिक्रिया