काठमाडाैं- विश्व चर्चित कलाकार तथा मोडलहरुको सहभागिता रहने कान्स फिल्म फेस्टिबल २०१९ मा नेपालकी चर्चित नायिका प्रियंका कार्की रेड कार्पेटमा हिँडेकी छिन्।
उनी नेपालबाट कान्समा सहभागी हुने पहिलो कलाकार हुन । सोमबार देखिका विभिन्न कार्यक्रममा सहभागी भएकी उनी रेड कार्पेटमा समेत प्रस्तुति दिएकी हुन्। पेरिसमा आयोजित कान्समा सहभागी उनी नेपालका लागि कान्सको पहिलो ब्रान्ड एम्बेस्डरसमेत भएकी छिन्।
उनले १८ वर्ष (२०६१ साल)मा ‘मिस टिन नेपाल’ उपाधि जितेकी थिइन्। त्यतिबेला ‘मिस बिकिनी’, ‘मिस ट्यालेन्ट’ र ‘मिस इन्टेलिजेन्ट’ समेत उनले हात पारेकी थिइन्।
कुनै बेला कान्तिपुर टिभीमा भिजेको काम गरेकी उनी टिभी सिरियल ‘घरबेटी बा’बाट आफूलाई दर्शकमाझ लोकप्रिय भएकी थिइन्। ३२ वर्षीया प्रियंकाले ‘थ्री लभर्स’बाट नेपाली सिने क्षेत्रमा पाइला टेकेकी हुन्। हाल उनी मोडलिङ र फिल्म दुवै क्षेत्रमा व्यस्त छिन्। धेरै ब्रान्डहरुको ब्रान्ड एम्बेस्डर भएकी छिन्।
८ वर्षअघि अमेरिकाबाट फर्किएपछि प्रियंकाले फिल्म ‘झोले’बाट यो क्षेत्रमा सशक्त नायिकाको रुपमा स्थान बनाएकी हुन्। २०७० सालमा रिलिज भएको फिल्म ‘नाई नभन्नु ल २’ उनको अर्को हिट फिल्म थियो। त्यसले झन्डै ४ करोड ब्यापार गरेको थियो। त्यसयता उनले पछाडि फर्किएर हेर्नु परेको छैन। उनी अभिनित वडा नम्बर ६, छक्का पञ्जा, शत्रुगते, फाटेको जुत्ता, पुरानो डुङ्गालगायतका फिल्म सफल छन्।
समीक्षकहरुले उनलाई ‘भर्सटाइल एक्टर’को उपमा दिने गरेका छन्। प्रियंकाको कान्स यात्रा काठमाडौंस्थित फ्रेन्च दूतावासको सहयोगमा सम्भव भएको हो। विश्व चर्चित सो फेस्टिबलमा नेपालको प्रतिनिधित्व नभइरहेको बेला नेपालकै प्रतिनिधित्व गर्ने अवसर उनले पाएकी हुन्।
इतिहास रच्न पाएकोमा उनले प्रशन्नता प्रकट गरेकी छिन्। ‘नेपालको प्रतिनिधित्व गरेर कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पाउनु एकदमै गौरवको कुरा हो। मैले धेरै पहिलेदेखि यो सपना देख्दै आएकी थिएँ,’ उनले लेखेकी छन्, ‘कान्समा हिँडेका सेलेब्रेटीहरू देख्दा मलाई सधैं म पनि एक दिन यहाँसम्म पुग्नेछु भन्ने लाग्थ्यो। यो दिन आइपुग्यो।’
प्रतिक्रिया