पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकसित र आधुनिक नेपाल निर्माण गर्न चाहेको बताएका छन् ।
नेपाल स्काउटको प्रथम ‘राष्ट्रिय रोभर मुट’को शनिबार पोखरामा उद्घाटन गर्दै प्रधानमन्त्रीले नयाँ नेपाल निर्माणको लागि युवाहरुको साथ र सहयोग आवश्यक रहेको बताएका हुन्।
प्रधानमन्त्रीले देश विकासको यस अभियानमा युवाहरुलाई अनुशासित ढंगले सहभागी गराउनका लागि स्काउटको भूमिका महत्वपूर्ण हुने बताए ।
‘स्काउटले दक्षता,योग्यता,अनुशासन र देशभक्तीपूर्ण भावना भएका युवाहरु तयार गर्नुपर्दछ’, उनले भने ‘स्कउाटले युवालाई कर्मवीर र राष्ट्रप्रति बफादार बनाउनु पर्दछ ।’
नेपाल प्रतिभाशाली मानिसहरु बस्ने भू-भाग भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले युवाहरुको प्रतिभा देश विकासका लागि उपयोग गर्नुपर्नेमा जोड दिए ।
‘हामी युवाहरुलाई सक्षम बनाउनु चाह्न्छौं’ उनले भने ‘युवाहरुलाई भिडाएर झगडाको अखडा मात्र होइन ,उनीहरुलाई सृजनशिलता र उत्पादनमा लगाएर नेपाललाई शान्तीको थलो बनाउनु पर्दछ ।’
प्रतिक्रिया