+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड भन्छन्, ‘कुनै दिन विप्लव पनि यही पार्टीमा आएर जोडिनुपर्छ’

4KNationalDaily
२०७६ जेष्ठ १९, आईतवार १४:३४ बजे

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहका रहेका कम्युनिष्टलाई नेकपामा समावेश भएर मूल प्रवाहमा सामेल हुन आग्रह गरेका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आइतबार पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश गराउँदै प्रचण्डले कुनै दिन मुलुकको समृद्धि र समाजवादका लागि विप्लव पनि यही पार्टीमा आएर जोडिनुपर्ने बताए ।

उनले विप्लव समूहले लिएको बाटो गन्तव्यमा नपुगिने भएकाले यही पार्टीमा आएर मूलप्रवाहीकरण हुनुपर्ने बताएका हुन् । सरकारले विप्लव समूहका हिंसात्मक गतिविधिलाई प्रतिबन्ध लगाएको छ ।

‘म अन्य साथीहरुलाई कुनै आग्रहबिना मूल राजनीतिक पार्टीमा समाहित हुन आग्रह गर्छु । आउनुस् बसेर छलफल र संवाद गरौँ । इतिहास, वर्तमान, राष्ट्र र अन्तर्राष्ट्रिय स्थितिको समीक्षा गरौँ । देश र जनताका आकाङ्क्षा पूरा गरौँ । विश्वलाई समाजवादी आन्दोलनको नयाँ ढाँचा र सन्देश दिउँ । यो ऐतिहासिक आवश्यकता हो’ प्रचण्डको आग्रह थियो ।

उनले भने, ‘लामो बलिदान र सङ्घर्षबाट नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भई अहिले सत्ताको नेतृत्वमा छ । जनताले ठूलो भरोसा गरेको छ । हामीले सुशासन र समृद्धिको यात्रालाई सफल बनाउनुपर्छ । सामाजिक न्यायसहितको नयाँ ढाँचामा हामी जान खोजेका छौँ । यसलाई असफल बनाउने तमाम प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नुुपर्छ । सबै कम्युनिष्ट पार्टीलाई एकीकृत गर्नुपर्छ । पार्टी प्रवेशको शृङ्खला रोकिने छैन ।’

उनले सरकारले समाजवादको उद्देश्यमा जोड दिएर नीति कार्यक्रम र बजेट ल्याएको उल्लेख गर्र्दै सापेक्षितरुपमा तल्लो वर्ग र उत्पीडित वर्गलाई प्राथमिकता दिएर समाजवादको आधार तयार गरिरहेकाले अन्य समूहका कोही कम्युनिष्टका नाममा छरिएर रहन नपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले वैधानिक, शान्तिपूर्ण बाटोसहित बलियो कम्युनिष्ट पार्टीमा आई अब हिंसाबाट राष्ट्र र जनताको परिवर्तन गर्न सकिँदैन भनेर राई पुनः मूलप्रवाहमा फर्कनु सही समयको सही निर्णय भएको उल्लेख गर्दै राईले विगतमा गरेको त्याग, बलिदानका आधारमा आवश्यक भूमिका दिइने वचन दिए ।

आफैँले हुर्काएका छोराछोरी रिसाएर घरबाट बाहिर गएमा अभिभावकलाई चिन्ता परे झैँ पदम राईहरु बाहिर रहँदा आफूलाई चिन्ता लाग्ने गरेकामा आज उनी पार्टीमा फर्केकामा खुशी लागेको अनुभव सुनाए ।

पूर्वभौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत रहेका राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । अध्यक्ष प्रचण्डसहित पार्टीका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा, महासचिव विष्णु पौडेललगायतले राईलाई स्वागत गरेका थिए ।

नेता राईले देशमा केही परिवर्तन हुन्छ कि भनेर विप्लव समूहमा लागेको र पछिल्ला समयमा कतिपय घटना र अवस्थाका कारण हिंसात्मक लडाईं गर्दा कुनै शक्तिले केही नपाउने तर देश र जनताले फेरि दुःख पाउने भएकाले सो समूह परित्याग गरेको बताए ।

उनले आफू सो समूहमा रहेर सरकारसँगको वार्तामा अग्रसरता लिएको तर त्यो सफल नभएकाले हिंसाबाट एकले अर्कोलाई बदला लिनुभन्दा शान्तिपूर्ण बाटोबाट समाज रुपान्तरणमा लाग्नुपर्ने आफ्नो निचोड रहेको सुनाए ।

उनले समृद्धिको सपना पूरा गर्ने दिशामा आफूले एक इँटाको काम गर्ने गरी आगामी राजनीतिक यात्रा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily