+
Search

ताजा अपडेट +

पपुलर +

जल क्षेत्रको पर्यटन र सहासिक खेलको बारेमा सरोकारवाला बीच वृहत अन्तरक्रिया

4KNationalDaily
२०७६ जेष्ठ २१, मंगलवार १९:०४ बजे

काठमाडौं– नेपालमा जल क्षेत्रको पर्यटन र सहासिक खेलको बारेमा सरोकारवालाहरु बीच एक वृहत अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । जुन ५ मा मनाइने विश्व वातावरण दिवसको सन्दर्भमा सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल वाटर स्पोर्ट एण्ड पावर बोट एसोसिएसनको आयोजना तथा अन्य सरोकारवाला निकायको समन्वयमा नेपाल पर्यटन बोर्डको हलमा भएको उक्त कार्यक्रममा वक्ताहरुले नेपालको पर्यटनमा जल पर्यटनको सम्भावना भए पनि राज्यले परम्परागत पर्यटन प्रवद्र्धनमा मात्र ध्यान दिएको र वास्तविक संभावनाहरुको वारेमा खासै गम्भीर भएर चासो नदिएको बताएका छन् ।

सांसद भवानी खापुङले नेपालमा जल पर्यटनको क्षेत्रमा अथाह सम्भावना भए पनि त्यसको खोजी नभएको र यसका लागि सरोकारवाला सरकारी तथा गैरसरकारी निकायलाई सम्भावनाको खोजीका लागि पहल गर्न आग्रह गरे ।

उनले हेर्दा सामान्य लाग्ने, तर गम्भीर सम्भावनाको यो क्षेत्रलाई निकै चासोका साथ संसदीय समिति र अन्य क्षेत्रमा नीतिगत हिसावले उठाउने प्रतिवद्धता ब्यक्त गरे ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्भावना भएका र साहसिक तथा पर्यटकीय खेलकुदको विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आगामी दिनमा यो क्षेत्रमा सहकार्य गर्न सकिने बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका महासचिव विर्ष वहादुर शाहीले नेपालको पर्यटन प्रवद्र्धनको लागि वन क्षेत्रको महत्वपुर्ण भूमिका रहे पनि पुराना ऐन, नियम, कानुन बन, प्रकृति र पर्यटनको लागि सहयोगी नभएकाले त्यसको शंशोधन गरी वन क्षेत्रवाट पर्यटनको प्रवद्र्धन गर्न आफूहरु तयार रहेको वताए ।

सो अवसरमा पर्यटन क्षेत्रसँग सम्बन्धित एकेडेमी तथा अन्य विभिन्न व्यवसायीहरुले आ–आफ्ना धारणा राखेका थिए । पावर बोट एसोसिएसनका अध्यक्ष रमन भट्टराइले सहभागिहरुलाई स्वागत गर्दै यस संस्थाको उद्देश्य र औचित्यका बारेमा प्रष्ट्याएका थिए ।

माउन्टेन स्पोर्ट एसोसिएसनका अध्यक्ष एवं पर्यटनविद् गोविन्द भट्टराई र पावर बोट एसोसिएसनका महासचिव सन्तोष न्यौपानेले नेपालमा जल क्षेत्रको अवस्था र सम्भावना वारेमा प्रस्तुतिकरण गरेका थिए ।

नेपालमा जल क्षेत्रको अध्ययन र विश्वब्यापी सम्भावना खोजी, आवश्यक कामको सहजीकरण र प्रवद्र्धन गर्नको लागि नेपाल वाटर स्पोर्ट एन्ड पावर बोट एसोसिएसन हालै गठन भई नासा फाउन्डेसन, माउन्टेन स्पोर्ट एसोसिएसन, राष्ट्रिय खेलकुद परिषद् लगायत क्षेत्रसँग जल र सहासिक खेलमा सहकार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily