+
Search

ताजा अपडेट +

पपुलर +

नेपालको पुनर्निर्माण र विपद् व्यवस्थापन अरु मुलुकका लागि अनुकरणीय हुन सक्छ : गृहमन्त्री थापा

4KNationalDaily
२०७६ जेष्ठ २७, सोमबार २१:०५ बजे

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले भूकम्पपछि नेपालको पुनर्निर्माण र विपद् व्यवस्थापन विश्वका विभिन्न मुलुकका लागि अनुकरणीय हुन सक्ने बताएका छन् ।

विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिका सम्बन्धी दक्षिण एसियाली सम्मेलनमा गृहमन्त्री थापाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वर्तमान नेतृत्वमा भएको पुनर्निर्माण नेपालीका लागि मात्र नभएर विदेशीहरुलाई पनि अनुकरणीय हुन सक्ने बताएका हुन् ।

“जुन ढंगले विपद्को व्यवस्थापन र पुनर्निर्माण गरेका छौं, त्यो नमूना बन्न सक्छ र अरु मुलुकलाई अनुकरणीय हुन सक्छ’ उनले भने ।
गृहमन्त्री थापाले विपद् व्यवस्थापन स्थानीय तहहरुको मात्र नभई विश्वव्यापी मुद्दा भएकाले सबै मिलेर चुनौतीको सामना गर्नु पर्ने धारणा व्यक्त गरे।

उद्घाटन कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चार लाख भन्दा बढी निजी आवासको पुनर्निर्माण सम्पन्न भएको र २ लाख २८ हजार घर पुनर्निर्माणका क्रममा रहेको जानकारी दिँदै अझ राम्रो र बलियो भन्ने आवधारणा अनुसार नेपालमा पुनर्निर्माण अघि बढिरहेको बताए ।

भूकम्प पीडित जनताको अपनत्व र स्वामित्वमा निजी आवास पुनर्निर्माण भइरहेको भन्दै उनले बैंकिङ प्रणालीबाट अनुदान उपलब्ध गराइएकोले आर्थिक पारदर्शिता कायम भएको बताए ।  उनले विपद्पछिको पुनर्निर्माणमा धेरै खर्च हुने भएकाले स्थानीय तहसँगको सहकार्यमा विपद्को न्यूनीकरणमा विशेष ध्यान दिन आवश्यक रहेको धारणा व्यक्त गरे ।

उनले निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सम्पदा, सुरक्षा निकायका भवन लगायतलाई प्राथमिकताका आधारमा पुनर्निर्माण गरिरहेको जानकारी दिए।

सम्मेलन भोलिसम्म चल्नेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट – एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधिहरु एवं विज्ञहरुको सहभागिता छ । त्यस्तै, चीनका पर्यवेक्षक पनि सहभागी छन् ।

सम्मेलनको दोस्रो सत्रमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणका उपलब्धीहरु र त्यसको दीगोपनासम्बन्धी विशेष प्रस्तुति दिएका थिए ।

सोमबार नै नेपालमा भूकम्पपछिको पुनर्निर्माणका अनुभव र शिक्षा, विपद् जोखिम न्युनीकरणसम्बन्धी प्यानलछलफल तथा प्रश्नोत्तर भएको छ । मंगलबार नवीकरणीय उर्जा, जलवायु परिवर्तनलगायतका विषयमा प्यानल छलफल तथा प्रश्नोत्तर हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily