गाेरखा- पालुङ्टार नगरपालिका भित्र करिव ३८ हजार २४४ जनसंख्या रहेकाेमा ३९७ जना बेरोजगार रहेको नगरपालिकाले जनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत फाराम भर्नेहरुको आधारमा नगरपालिकाले प्रकाशन गरेको सूचीमा सवै वडाहरुबाट फाराम भर्नेहरुको बेरोजगार सूची प्रकाशन गरेको हो ।
बेरोजगार छनौट भएका व्यक्तिहरुका लागी प्रतिदिन ७ सय रुपैयाँका दरले पारिश्रमिक पाउने र नगरपालिका भित्रका कुनै पनि योजनाहरुमा उनीहरुलाई काममा लगाउने नगरपालिकाले जनाएको छ ।
कार्यक्रमका लागी वडा नं. १ बाट ३४ जना, वडा नं. २ बाट ८२ जना, वडा नं. ३ बाट २७ जना, वडा नं. ४ बाट ८० जना, वडा नं. ५ बाट २१ जना, वडा नं. ६ बाट २७ जना, वडा नं. ७ बाट ५२ जना, वडा नं. ९ बाट २५ जना र वडा नं. १० बाट २७ जना छनौट भएको नगरपालिकाले जनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बेरोजगारलाई रोजगार दिन सरकारले पालङुटारमा ४० लाख बजेट बिनियाेजन गरेकाे छ । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि स्वीकृत भएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।
नेपालको संविधानले नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेको रोजगारीको हकलाई कार्यान्वयन गर्न ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ भन्ने मूल नारासाथ सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गरेको हो ।
प्रतिक्रिया