+
Search

ताजा अपडेट +

पपुलर +

‘क्लिन फिड’ लागु भए दोब्बरले बढ्छ नेपाली विज्ञापन बजार

4KNationalDaily
२०७६ असार १२, बिहीबार ०७:२७ बजे

काठमाडौं- सोमबार दिउँसो ३ः०० बजेदेखि मंगलबार ३ः०० बजेसम्म केबल टेलिभिजन तथा डाइरेक्ट टु होम (डीटीएच) सेवा प्रदायकले २४ घण्टा विदेशी टेलिभिजन च्यानलको प्रसारण बन्द गरेपछि ‘क्लिन फिड’ चर्चामा छ।

गोरखापत्र दैनिक लेख्छ, टेलिभिजन च्यानल प्रसारण बन्द गरेका नेपाल केबल टेलिभिजन महासंघ र इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले प्रस्तावित विज्ञापन ऐन, २०७६ अनुसार क्लिन फिड लागू भए टेलिभिजन प्रसारण गर्न समस्या हुने दाबीसाथ सा‌ंकेतिक रूपमा प्रसारण बन्द गरिएको जनाउँदै आएका छन्।

तर, क्लिन फिड पूर्ण रूपमा लागू भए त्यसले नेपालको विज्ञापन बजारको आकार अर्बौं रुपियाँले बढाउने र सरकारको राजस्व वृद्धि गर्न सहयोग पुग्ने सम्बन्धित सरोकारवालाको भनाइ छ।

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ६ (१) अनुसार ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरू नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने छ’ उल्लेख छ।

त्यस्तै सोही दफाको उफदफा २ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने उल्लेख गरिएको छ।

प्रस्तावित यो व्यवस्था कार्यान्वयनमा आए अहिलेको विज्ञापन बजार दोब्बर हुनसक्ने नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष सन्तोष श्रेष्ठ बताउँछन्। ‘

अहिलेकै परिस्थितिमा क्लिन फिड लागू भए कम्तीमा दुई अर्ब रुपैयाँभन्दा बढीले तत्काल बजार विस्तार हुने छ’, नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष सन्तोष श्रेष्ठले भने।

संघका अनुसार अहिले नेपालको विज्ञापन बजार करिब आठ अर्ब रुपैयाँको आसपासमा छ। क्लिन फिड कार्यान्वयनमा आएपछि स्वदेशमै कलाकारदेखि प्राविधिकसम्मको रोजगारी बढ्ने मात्र नभई सरकारी राजस्वमा पनि त्यसैअनुसार वृद्धि हुने श्रेष्ठले जानकारी दिए।

विदेशी विज्ञापन बन्द भएपछि बहुराष्ट्रिय कम्पनीले पनि नेपालमै विज्ञापन बनाउनुपर्ने भएकाले यसको आन्तरिक स्रोत प्रयोग हुने उनको दाबी छ।

यसबाहेक नेपाली भाषामा डबिङ गरेर विज्ञापन प्रसारण भइरहेकोमा त्यो पनि हट्ने हुँदा बजारको अवसर थप बढ्ने उनले बताए। नेपाली भाषामा डबिङ गरेर प्रसारण गरिएका विज्ञापनको बजार अहिले करिब एक अर्ब रुपैयाँको हाराहारीमा रहेको उनको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily