+
Search

ताजा अपडेट +

पपुलर +

‘ल्यापटप दिन्छौं, घर लान पाइन्न’ : सभामुख

4KNationalDaily
२०७६ असार १७, मंगलवार ०८:५० बजे

काठमाडौं- प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले सांसदका लागि खरिद गरिने ल्यापटप संसदीय प्रयोजनका लागिमात्र हुने प्रस्ट पारेका छन् ।‘घरमा लैजान नभई संसद्मा रहँदा प्रयोग गर्न सकिनेगरी ल्यापटप खरिद गर्न’ लागिएको स्पष्ट पार्दै उनले यस्तो घोषणा गरेका हुन् ।

‘ल्यापटप सांसदलाई घरमा लैजान दिइने होइन, यो त विशुद्ध संसदीय प्रयोजनका लागि प्रयोग हुनेछ,’ महराले भने, ‘संसद्मै रहँदा कापी र कागजमा लेख्नुभन्दा ल्यापटप प्रयोग गरी छिटो र छरितो ढंगबाट संसदीय काम गरुन् भन्ने ध्येय हो ।’

‘पेपरलेस’ संसद् बनाउने उद्देश्यले योजना अघि बढाइएको जानकारी पनि महराले दिए । ‘सरकारी कार्यालय कागजरहित वा डिजिटलाइजेसन गर्ने नीतिअनरुप संसद्मा पनि त्यसअनुसारको व्यवस्थापन गर्न खोजिएको हो,’ सांसदलाई ल्यापटप बाँड्न लागिएको विषयप्रति असहमति राख्दै उनले भने, ‘संसद्मा रहँदा आफ्ना काम गर्छन् । काम भ्याएपछि मन्त्रिपरिषद्मा जस्तै सबै ल्यापटप संसद्मातहत रहन्छन् । सांसदको काम छिटोछरितो बनोस् भन्ने हाम्रो सोच तोडमोड गरी बाहिर ल्याइयो ।’

सांसदको ‘भिडियो प्रोफाइल’ सार्वजनिक कार्यक्रममा सभामुख महराले संसद्मा आफ्ना भनाइ राख्दा तथा नीतिनिर्माणमा तत्काल इन्टरनेट प्रयोग गरी आवश्यक कदम चाल्न यो कार्य सहयोगी हुने विश्वास व्यक्त गरेकाे खबर अाजकाे राजधानी दैनिकमा प्रकाशित भएकाे छ ।

यसअघि, सरकारले चालू आार्थिक वर्षको विकास खर्च कटाएर प्रतिसांसद एकलाख बढी पर्ने ल्यापटप खरिद गर्ने निर्णय गरेको थियो । ल्यापटप किन्न विकास खर्चको ३ करोड ३४ लाख रुपैयाँ रकमान्तर गरिएको पनि जनाइएको छ ।

संघीय संसद्का ३ सय ३४ सांसदलाई सरकारले रकमान्तर गरी ल्यापटप किन्ने प्रक्रिया अघि बढाएको हो ।संघीय संसद् ‘पेपरलेस’ गराउने भन्दै सरकारले संघीय संसद्को प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ सांसदलाई ल्यापटप दिने प्रक्रिया अघि सारेको छ ।

‘भिडियो प्रोफाइल’ तयार

यसैबीच, संघीय संसद् सचिवालयले संसद्लाई ‘डिजिटलाइजेसन’ गर्ने भन्दै सांसदको ‘भिडियो प्रोफाइल’ तयार गरेको छ ।६१औं संसद् दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभाहलमा सोमबार आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको ‘भिडियो प्रोफाइल’ सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, प्रतिनिधिसभा सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष तथा उपध्यक्षको ‘भिडियो प्रोफाइल’ सार्वजनिक गरिएको छ ।

पहिलो चरणमा ३ सय ३१ सांसदको ‘भिडियो प्रोफाइल’ तयार गरिएको छ । जसमा सांसदको संक्षिप्त जीवनी तथा राजनीतिक पाटा समेटिने बताइएको छ । सांसदका ‘भिडियो प्रोफाइल’क संसद्को वेबसाइट तथा सामाजिक सञ्जाल युट्युबमा राखिने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily