काठमाडौँ- हास्य कलाकार शिवहरि पौडेल धेरै हास्यटेलिसिरियल निर्देशन गरिसकेका छन् । ‘प्वाक्क मुखमा हान्नु जस्तो’ उनको निकै नै फेमस थेगो हो । उनले अब चलचित्र पनि निर्माण निर्देशन गर्ने भएका छन् ।
उनको निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’को आइतबार हास्यकलाकार शिवहरि पौडेलले आफ्नो जन्मदिनको दिनको अवसरमा घोषणा गरेका थिए ।
उक्त चलचित्रका सह-निर्माता भने किरण र अभिनेता दिलीप रायमाझी रहनेछन् ।आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने ‘लक्का जवान’मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ ।कलाकार र अन्य प्राविधिक पक्षबारे पछि जानकारी दिने निर्माण पक्षले बताएको छ ।
तर चलचित्र निर्माण घोषणासँगै चलचित्रमा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्यालाई डेब्यू गराउने हल्ला फिल्म वृत्तमा चल्न थालेको छ । यस सम्बन्धी जानकारी दिँदै निर्देशक पौडेल दिव्यालाई फिल्मबाट डेब्यू गराउने पहल गरेको र केही दिनमा टुङ्गो लाग्ने बताउँछन् ।
अमेरिकामा रहेकी दिलीपकी छोरी अभिनयमा इच्छुक रहेको तर अहिल्यै डेब्यु गर्ने नगर्ने उनले आधिकारिक जानकारी दिन बाँकी रहेको खुलेको छ । उनी फिल्ममा प्रवेश गर्न इच्छुक रहेको जानकारी प्राप्त छ ।
एक समय टेलिभिजनको पर्दामा जमेका कलाकारहरु पछिल्लो समय फिल्म निर्माणमा निकै आकर्षित भएको देखिन्छ । महजोडी हुँदै दीपकराज गिरी र दीपाश्री निरौलासम्मले फिल्म निर्माणमा पाइला राखिसकेका छन् ।
चाँडै सिताराम कट्टेल र कुञ्जना घिमिरे पनि फिल्म बनाउँदैछन् । ‘भद्रगोल’ टिम पनि फिल्म निर्माणको प्रक्रियामा छ । यो भीडमा अब शिवहरी पनि थपिएका छन् ।
प्रतिक्रिया