काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका बेला आफूले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याएको डकुमेन्ट हेर्दै नहेरी हस्ताक्षर गरेको बताएका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी एकता विश्वासका आधारमा भएकाले आफूले डकुमेन्ट नहेरिकनै हस्ताक्षर गरेको बताएका हुन् ।
पार्टी एकताको समयमा आफूले अर्का अध्यक्ष प्रचण्डलाई डकुमेन्ट ल्याउन भनेको ओलीले बताए ।
उनले भने, ‘एकताका लागि मैले हेर्दै नहेरिकन डकुमेन्टमा हस्ताक्षर गरेको हुँ । एकता विश्वासमा गरिएको हो । लेखेर ल्याउनुस् भनेपछि उहाँले ल्याउनुभयो । मैले हस्ताक्षर गरेँ ।’
पार्टी एकता टुंगोमा पुग्न नदिनका लागि विरोधीले सबै प्रयास गरेको भन्दै संसदीय दलका नेता समेत रहेका ओलीले बाँकी काम छिट्टै टुंगिने बताएका छन् ।
तर एकताका बाँकी काम टुंगो लगाउन सजिलो नभएको तर्क गर्दै ओलीले भने, ‘परिवारका सदस्य नमिल्दा अंशबण्डा गरेजस्तो सजिलो नहुने रहेछ ।’
प्रतिक्रिया