काठमाडौं- दलित तथा विपन्नलाई सिलाइ तालिम दिने बजेटबाट हुम्लाका हाकिमहरूका लागि सिलाएका कोट घरेलु तथा साना उद्योग विकास समितिले बिक्री गर्ने तयारी गरेको छ।
कपडा र सिलाइसहित एउटा कोट तयार गर्दा ७ हजार खर्च भएकामा घरेलुले १२ सय ४८ रुपैयाँका दरले बिक्रीमा राख्न लागेको हो।
‘हुम्लाका दलित र विपन्नलाई तालिम दिने बजेट हाकिम र मन्त्रीका पिएले सिलाए कोट’ शीर्षकमा समाचार छापिएपछि हाकिमहरूलाई कोट बाँड्ने योजनाबाट जिल्ला घरेलु पछि हटेको खबर आजको नयाँ पत्रिकामा नरजन तामाङले लेखेका छन्।
‘१२–१३ वटा कोट सिलाइएको छ,’ हुम्ला घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका निमित्त प्रमुख शम्भुप्रसाद उपाध्यायले भने, ‘यी कोट अब हाकिमहरूलाई दिँदैनौँ, बिक्रीमा राख्छौँ । समितिको कार्यालयमै झुन्ड्याएर राखिन्छ, इच्छुक व्यक्तिले प्रतिकोट १२ सय ४८ रुपैयाँ तिरेर लैजान सक्छन्।’
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको ०७५र७६ को नियमित कार्यक्रममा आएको बजेटबाट जिल्ला घरेलुले सिडिओ धोलकराज ढकाल, सहायक सिडिओ महेशकुमार पोखरेल, डिएसपी रामप्रसाद घर्तीमगर, सशस्त्र प्रहरी प्रमुख राजकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख सञ्जीव चौधरीका नाममा कोट तयार गरिसकेको छ।
त्यस्तै, कोष तथा लेखानियन्त्रक राजन रेग्मी, जिल्ला समन्वय समिति प्रमुख दानबहादुर रावत, समन्वय अधिकारी रामप्रसाद अधिकारी, सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, कांग्रेसका जिल्ला सभापति जयपति रोकाया, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलका स्वकीय सचिव नन्दबहादुर रोकाया, जिल्ला युवा परिषद्का अध्यक्ष कमल बोहरा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहरा र गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष पर्वत सुनारलाई पनि तालिमकै बजेटले कोट सिलाइएको छ ।
हाकिमहरूले ‘कस्तो सिलाइ हुँदो रै’छ, हामीलाई पनि सिलाउनु त’ भनेपछि सबैको नापो लिएको प्रशिक्षक दिक्पाल परियारले बताए।
प्रतिक्रिया