काठमाडाैं- नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले वर्तमान सरकार पुरानै यतास्थितिवादीको सरकार रहेको भन्दै केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा कम्यूनिष्ट पार्टी नरहेको टिप्पणी गरेका छन् ।
सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा वैद्यले यस्ताे बताएका हुन् ।
उनले भने ‘कम्यूनिष्ट पार्टीको सरकार भएको भए लोकतान्त्रिक मूल्य मान्यतालाई ख्याल गर्दै अभिव्यक्ति तथा वाक स्वतन्त्रता, राजनीतिक दल माथिको प्रतिबन्ध लगायतका गलत कार्य ओली-प्रचण्ड सरकारले गर्ने थिएन ।’ वर्तमान संविधान अपाङ्ग रहेको टिप्पणी गरेका छन् ।
संविधानले सुनिश्चित गरेका विभिन्न अधिकारहरुलाई राज्यले अपाङ्ग बनाएर निरिह संघीय व्यवस्था लाद्न खोजेका उनले आरोप लगाए ।
जनयूद्ध, जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतका विभिन्न चरणमा भएको आन्दोलनको मर्म विपरित संविधान ल्याउनु दुर्भाग्यपूर्ण रहेको बताए ।
उनले आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको रगतको मूल्य चुक्ता गर्नुपर्ने बेलामा नेकपाले सत्ताको भोग विलासमा रहेर आफैले ल्याएको विभिन्न आन्दोलनको एजेण्डा विर्सिनु दुःखद रहेको बताए ।
उनले विप्लव नेकपामाथि सरकारले प्रतिबन्ध लगाएर सरकार विरोधी क्रियाकलाप गर्ने राजनीतिक दलप्रतिको आक्रमण भएको टिप्पणी गरे ।
यद्यपि उनले विप्लब नेतृत्वको नेकपाको कुनै कार्यदिशा नरहेको समेत बताए ।
जनआन्दोलन, मधेस आन्दोलन लगायत चरणबद्ध आन्दोलनमा उठेका मुद्दाहरुलाई नेकपा क्रान्तिकारी माओवादीले नयाँ ढंगले अगाडि बढाउने उल्लेख गर्दै वैद्यले संगठन विस्तार तथा नयाँ ढंगले आन्दोलन हाक्ने जनकपुरधाममा बसेको पोलिटव्यूरो बैठकले निर्णय गरेको बताए ।
उनले अहिलेको अवस्थामा हतियारबद्ध आन्दोलन आवश्यकता नरहेकोले परिस्थति अनुसारको सबै वर्ग, लिंग समुदायलाई समेटेर नयाँ उचाईका साथ आन्दोनलको आवश्यकता रहेकोले सोको तयारीमा लागेको बताए ।
प्रतिक्रिया