काठमाडौं- लमजुङको दोर्दी खोलामा आएको बाढीले चारजनाको मृत्यु भएको छ भने सातजना वेपत्ता छन्।
बुधबार दिउँसो साढे २ बजे आएको बाढीले दोर्दी खोलामा निर्माणाधिन २५ मेगावाट माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनामा कार्यरत मजदुरलाई बगाएको थियो।
घटनापछि सुरुङमा थुनिएका १५ मजदुरको उद्धार गरिएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा लमजुङबाट शान्ता कमलीले लेखेकी छन्।
शिरतिर थुनिएको खोला अचानक उर्लिएर आएपछि मजदुरको भागाभाग भएको थियो। बुधबार रातिसम्म चार जनाको शव भेटिएको छ। तर, उनीरुको सनाखत हुन नसकेको प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले बताए।
अपरदोर्दी ए जलविद्युत् आयोजनाका सञ्चालन रामबहादुर पाण्डे भन्छन्ः
लमजुङको बेसिसहरबाट माथि दोर्दी खोलामा हाम्रो लिबर्टी इनर्जीले २५ मेगावाटको जलविद्युत् आयोजना बनाई रहेको छ। हाम्रोभन्दा माथि ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना पनि निर्माणाधिन छ।
हाम्रो परियोजनाको करिब ९७ प्रतिशत काम सकिएको छ। साउन र भदौभरिमा सबै काम सक्ने भनेर काम भइरहेको छ। हामी काममा व्यस्त थियौँ। सिमसिम पानी परिरहेको थियो। हामीभन्दा सयौँ किमी माथिबाट खोला बगेर आउने हो।
कहीँ कतै पहिरो गयो होला, खोला थुनियो होला। त्यो हामीलाई अनुमान भएन। अचानक बुधबार दिउँसो सुपर दोर्दीका प्रतिनिधिहरुले फोन गरेर भने, ‘माथिबाट भयानक बाढी आउँदै छ।’
हतार हतार सबैलाई सुरक्षित स्थानतर्फ लाग्न खबर गरियो। पावरहाउसमा भएका हामीसबै सुरक्षित स्थानमा पुग्न सक्यौँ।
तर, हेड बक्स हाम्रो पावर हाउसभन्दा पनि ६ किमी माथि छ। त्यहाँका मजदुरले भाग्न पर्याप्त समय पाएनन्। हेड बक्समा काम गरिरहेका ११ जनालाई बाढीले बगाएको रिपोर्ट छ। त्यसमध्ये चार जनाको शव भेटिएको छ।
हेडबक्स पुरिएको छ। सबै मेसिन बगेका छन्। स्थानीयबासीले अहिलेसम्म दोर्दीमा यत्रो बाढी कहिल्यै नदेखेको बताएका छन्।
प्रतिक्रिया