+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीले रअ प्रमूख भेटेको कुरा जनतालाई ढाँट्नु हुँदैन : नेता अधिकारी

4KNationalDaily
२०७६ श्रावण १०, शुक्रबार १४:४९ बजे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नं.–१ का प्रतिनिधि सभा सदस्य हरि अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमूख भेटेको विषय लुकाउन खोजेकोमा आपत्ति जनाएका छन्।

प्रधानमन्त्री रअ प्रमूख सामन्त गोयललाई नभेटेको सरकारका सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार पत्रकारहरुलाई जानकारी दिएका थिए।

मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले गोयल भेटेको प्रचार झुटो भएको र ‘बानी परेकाहरुले भेटे होलान्’ भन्दै भेट्ने नेताहरुमाथि अमर्यादित टिप्पणी गरेको नेता अधिकारी बताउँछन्। बाँस्कोटाले घुमाउरो भाषामा नेकपाका अध्यक्ष प्रचण्डमाथि कटाक्ष गरेका थिए।

केन्द्रीय सदस्य अधिकारीले शुक्रबार कुरा गर्दै नेपालका कुन नेताले कोसँग भेटे भन्ने कुराभन्दा पनि के कुराकानी भयो ? त्यो महत्वपूर्ण हुने बताए।

उनले भने, ‘कुनै छिमेकी देशको प्रतिनिधिले भेट्न खोज्दा भेट्दिनँ भन्न मिल्दैन। मूख्य कुरा के विषयमा कुराकानी भयो, त्यो महत्वपूर्ण हुन्छ। नेताहरुले राष्ट्रिय सुरक्षा र हितका विषयमा आफ्नो अडान राख्छन् कि राख्दैनन्, त्यो महत्वपूर्ण हो, भेटे कि भेटेनन् भन्ने कुरा महत्वपूर्ण होइन।’

नेता अधिकारीले नेकपाका अध्यक्ष प्रचण्डले गोयलसँग भेट्नु गलत नभएको बताए। उनले भने, ‘छिमेकी देशको प्रतिनिधि आएर अध्यक्षलाई भेट्छु भन्यो, उहाँले भेट्नुभयो। भेट्छु भन्नेलाई भेट्दिनँ भन्न मिल्दैन। तर, उहाँको भेट खुल्ला छ। राष्ट्रिय हित, २ देशको सम्बन्ध र विकासका बारेमा छिमेकीसँग भएको कुराकानीप्रति आपत्ति जनाउन जरुरी छैन, उहाँले राष्ट्रिय हितलाई सधैं प्राथमिकतामा राख्दै आउनुभएको छ।’

‘प्रधानमन्त्रीले गोयलसँग लुकेर भेट्नुको रहस्य के हो ? भेटेको कुरा खुल्ला रुपमा भन्दा के बिग्रन्छ ?’ अधिकारीको प्रश्न थियो। उनले थपे, ‘लुकेर भेट्ने, अनि भेटेको होइन भनेर जनतालाई ढाँट्ने, यो कसरी राष्ट्रवाद हुन्छ ? यो त ढोङ हो। प्रधानमन्त्रीको कुराकानी असल नियतका साथ नै भएको थियो भने भेटेको भन्दा के बिग्रन्छ ? आफूले लुकेर भेट्ने अनि अरुमाथि हिलो छ्याप्ने कुरा राम्रो होइन।’

नेता अधिकारीले सञ्चारमन्त्री बास्ँकोटाको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। ‘भेटेपछि सञ्चारमन्त्रीले किन ढाकछोप गर्नुपर्‍यो, किन अरुमाथि कटाक्ष गर्नुपर्‍यो। के लुकेर भेट्नु ठीक, खुल्ला भेट्नु बेठीक हो ? २ घण्टा भेट्नु ठीक ३० मिनेट भेट्न गलत हो ? सरकारले आधिकारिक रुपमा नै भेटेको जानकारी दिँदा प्रधानमन्त्रीको उचाइँ बढ्छ, जनतालाई यसरी ढाँट्नु हुँदैन।’

लोकपाटीबाट

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily