पालुङ्टार नगरपालिकाका नगरप्रमुख इ. दिपक बाबु कंडेलको भत्ताबाट नगरपालिका भित्रका विपन्न व्यक्तिहरुकाे स्वास्थ्य विमा गरिएको छ । आर्थिक बर्ष २०७५/७६ मा नगरप्रमुख कंडेलले प्राप्त गरेको भ्रमण भत्ताबापतको रकमबाट उक्त स्वास्थ्य विमा गरिएको हाे ।
आफूले भ्रमण भत्ता बापत पाएको रकमबाट नगरपालिकाभित्रका विपन्न व्यक्तिहरुको स्वास्थ्य विमामा खर्च गर्ने घोषणासंगै सम्पूर्ण रकम सोही प्रयोजनमा खर्च गरेको उनले बताए ।
यसैबीच श्रावण ११ गते का दिन वडा नं. ७ का ६ परिवारका ३३ जनाको स्वास्थ्य विमा कार्ड च्याङ्ली स्वास्थ्य चौकीमा हस्तान्तरण गरिएको छ । कार्ड वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख कंडेलले नगरपालिकाभित्रका गरीब विपन्न परिवारका व्यक्तिहरुले रकम अभावमा स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने उदेश्यका साथ आफूले अभियान शुरु गरेको बताए ।
उनले अहिले स्वास्थ्य विमा बापतको रकम आफूले उपलब्ध गराएपनि आगामी वर्षहरुमा नवीकरणको लागी रकम जम्मा गर्न ध्यान दिनुपर्ने बताए । नविकरणको लागी आवश्यक पर्ने रकम जुटाउनको लागी आजैदेखि थोरै रकम जम्मा गरेमा पनि सहज हुने बताए ।
नगरपालिकाका १० वटै वडाका करीव ५० जनाको लागी आफूले स्वास्थ्य विमाबापतको रकम आफ्नो भत्ताबाट उपलब्ध गराउने लक्ष्य नगर प्रमुखकाे रहेकाे छ ।
वडाभित्रका विपन्न मध्येबाट छानिएकाहरु फुलमती सुनार, भरत वि.क., सुवानी तामाङ, दिप बहादुर थापा, डुंगे कुमाल र ढाँटी कुमालको परिवार ले उक्त स्वास्थ्य विमा कार्ड पाएका हुन । यसअघि नगरपालिकाका अन्य विभिन्न वडाहरुमा समेत यसरी नै स्वास्थ्य बिमाको लागी रकम वितरण गरिसकेका छन् ।
च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले स्वास्थ्य विमाको बारेमा जानकारी गराउँदै योगदान रकमबापत यस वडाका ६ परिवारका लागी ३३ हजार ८ सय रुपैयाँ रकम उपलब्ध गराएकोमा नगरप्रमुख कंडेलप्रति आभार व्यक्त गरे ।
हालसम्म वडाभित्र २०० परिवारको स्वास्थ्य विमा गराइ सकिएको महिला स्वास्थ्य स्वयंसेविका सरस्वती ढकालले बताइन् । स्वास्थ्य विमा गर्नको लागी ४ जनाको एक परिवारले ३ हजार ५०० तिर्नुपर्नेछ, जसबापत १ लाखसम्मको उपचार निशुल्क पाइन्छ ।
प्रतिक्रिया