काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना माहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशिल बनाउन आह्वान गरेका छन् ।
आर्थिक बर्ष २०७६/७७को बार्षिक कार्ययोजना प्रष्तुती तथा कार्यन्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो आह्वान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार अन्त्य गर्न र सदाचारितालाई अवलम्बन गर्नका लागि सुत्र नै बनाउँ, मातहतको नजरमा नगिरौं । मातहतको नजरबाट गिर्नबाट जोगियो भने मान्छेले राम्रो काम गर्न सक्छ ।’
प्रधानमन्त्री ओलीले मन्त्री र सचिबहरुलाई कामलाई तिव्रता दिन र जेठ १५ मा बजेट ल्याउनुको उद्धेश्य आत्मसाथ गर्न आग्रह गरेका छन् ।
‘हामीले जेठ १५ मा बजेट ल्याएर असारभित्र पारित गर्ने परिपाटी किन सुरु गर्यौं भने साउनको सुरुबाट काम गर्न सकिन्छ भन्ने सोचले हो’, प्रधानमन्त्री ओलीले भने, ‘तर पहिले जस्तो फागुनतिर बल्ल ठेक्का सदर हुने ग-यो भने फेरी ठेक्का लाग्दा नलाग्दा पानी पर्ने बेला हुन्छ । अब त्यस्तो हुनु हुदैन । समय खेर फाल्नु भएन ।’
प्रधानमन्त्री ओलीले आफू र मन्त्रीहरुबीच कार्ययोजना सम्झौता भएकोले अब कामले तिव्रता लिने विस्वास व्यक्त गरेका छन् । ‘मेरो र मन्त्रीजीहरुको बीचमा सम्झौतामा हस्ताक्षर भएको छ ।
अब मन्त्रीजी र सचिबहरु बीचको सम्झौता भएर कामको गतिले तिव्रता लिने विस्वास लिएको छ’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्रीले सरकार भ्रष्टचारीहरुका विरुद्धमा अभूतपूर्व ढंगले अघि बढेको बताएका छन् । उनले भने, ‘भ्रष्टाचारीहरुलाई मुद्धा चलाइएको छ । कारबाही दृढताका साथ अघि बढाइएको छ ।’
कतिपय बेला संसदमा प्रतिपक्षीहरुले अनावश्यक रुपमा व्यवधान खडा गर्ने गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई रोक्ने र असफल बनाउने कुरा मञ्जुर छैन, लोकतन्त्रको रक्षा गर्ने र समुचित ढंगले अघि बढाउने कुरामा वर्तमान सरकार हामी दृढ छ ।’
प्रधानमन्त्रीले जनताले स्थिरताका लागि बहुमत दिएकोले वर्तमान सरकार जनताप्रति उतरदायित्व भएर काम गर्ने बताएका छन् ।
प्रतिक्रिया