काठमाडौं- नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आफू तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको उत्तराधिकारी बनेर आएको बताएका छन्।
मन्त्रालयमा पदभार ग्रहण गरेपछि पहिलो सम्बोधन गर्दै मन्त्री भट्टराईले आफ्नो गृहजिल्ला ताप्लेजुङमा २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएका तत्कालीन मन्त्री अधिकारीलाई सम्झिए।
‘उहाँको दुःखद निधनले राम्रो युवा राजनीतिकर्मी र घनिष्ठ मित्र गुमाएको छु। उहाँ बस्नु भएको कुर्सीमा परिस्थितिले आइपुगेको हुँ’, भट्टराईले भने, ‘उहाँसँग सुखदुःख सबै क्षणमा साथै हिँडेका थियौँ । उहाँ रहनु भएको भए यो मन्त्रालय अझै राम्ररी सम्हाल्नुहुन्थ्यो।’
करिब १९ मिनेट सम्बोधनका क्रममा रवीन्द्रलाई सम्झिँदा भावुक भएका भट्टराई आफूलाई उनको उत्तराधिकारी भने । ‘यो मन्त्रालय उहाँले नै राम्ररी हाक्नु हुन्थ्यो। प्रधानमन्त्रीको सही छनोट थियो। तर प्रकृतिसँग हार खाएर उहाँलाई गुमायौँ’, उनले भने, ‘रवीन्द्र अधिकारीको उत्तराधिकारी भएर आएको छु। यो भन्दा मलाई कुनै हीनताबोध छैन, गर्व छ।’
मन्त्री भट्टराईले आफ्नो कार्यकालमा देखिएका चुनौतीसँग सुरुबाटै सामूहिकरुपमा जुध्न तयार रहेको बताए । ‘हाम्रा ठुला आयोजना पोखरा विमानस्थल, गौतम बुद्ध विमानस्थलमा द्रुत गतिमा काम भइरहेको छ । यी काम सकेसम्म भनिएको समय भन्दा पहिले सक्छौँ, भएन भने तोकिएको समयमा पुरा गर्छौँ’, भट्टराईले भने, ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति कहाँ पुगेको छ? हामी सहमति जुटाउँछौँ । त्यसका आशंकालाई मेट्ने छौँ ।
प्रतिक्रिया