पोखरा- चीनसँगको कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेशका प्रतिनिधि र चिनियाँ प्रतिनिधिमण्डलबीच आइतबार पोखरामा छलफल भएको छ।
प्राध्यपाक वाइ ड्युङ लिउको नेतृत्वमा रहेको चिनियाँ टोलीले कोराला नाका खोल्न सम्भावाना र प्रदेश सरकारको धारणाबारे भेटमा जिज्ञासा राखेका थिए। नाका खुलेपछि हुने आर्थिक र धार्मिक गतिविधि वृद्धिको सम्भावनाको बारेमा समेत टोलीले चासो राखेको थियो।
जवाफमा प्रदेश प्रतिनिधिमण्डलको नेतृत्व गरेका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले नाका खोल्न प्रदेश सरकार तत्पर रहेको र संघ सरकारलाई अनुरोध पठाई सकिएको जानकारी गराएका थिए।
साथै उनले नाका खोल्न सकेमा व्यापरिक, धार्मिक र बहुपक्षीय रुपमा दुवै देशले फाइदा लिन सक्नेतर्फ चिनियाँ पक्षको ध्यानाकर्षण गराएका थिए।
उक्त नाकामा सडकको ट्र्याक बनिसकेको र भौगोलिक रुपमा काठमाडौं र लुम्बिनीसँग नजिक रहेकोले यसले व्यापारिक र धार्मिक रुपमा फाइदा पुग्ने उनको भनाइ थियो।
चिनियाँ प्रतिनिधिमण्डल प्रमुख प्राध्यापक लिउले आफूहरु समेत कोराला नाका खोल्ने प्रक्रिया अगाडि बढाउन इच्छुक रहेको र नेपाली पक्षले सहमत भएमा चाँडै विस्तृत सम्भाव्यता अध्ययन गर्ने बताएका थिए।
छलफलमा प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेलले यस नाकाबाट सवैभन्दा छोटो दूरीमा भारतीय नाकासँग समेत जोडिने भएकोले यसले त्रिदेशीय व्यापरिक गतिविधिलाई बढाउन मदत गर्ने बताएका थिए।
मुस्ताङ जिल्लामा पर्ने कोराला नाका खुलाउन सकिए चीनसँगको व्यापार आदानप्रदानका लागि सहज हुने भन्दै गण्डकी प्रदेशले कोराला नाका खोल्न केन्द्र सरकारलाई आग्रह गरेको छ।
प्रतिक्रिया