पाेखरा- समाजवादी पार्टी नेपालका सांसद हरिशरण आचार्यले गण्डकी प्रदेशका जनप्रतिनिधि सुविधाभोगी बन्दै गएको भन्दै आलोचना गरेका छन्।
सोमबार प्रदेशसभा बैठकमा बोलेका आचार्यले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले एक करोड ८५ लाखको गाडी चढ्ने गरेको, मन्त्रीहरू तथा जनप्रतिनिधि सुविधाभोगी बन्दै गएको बताए।
जनता शुद्ध खानेपानीको पर्खाइमा रहेको उल्लेख गर्दै उनले जन अपेक्षाअनुसार प्रदेश सरकार चल्न नसकेको आरोप लगाए।
‘मुख्यमन्त्री एक करोड ८५ लाख पर्ने गाडी चढ्नु हुन्छ। कसले महँगो गाडी चढ्ने भन्ने प्रतिस्पर्धा नै छ,’ उनले भने, ‘प्रधानमन्त्रीले २२ लाख पर्ने मुस्ताङ म्याक्स गाडी चढेको यही देशमा होइन? त्यो कुरा बिर्सनुभयो?’
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै मुस्ताङ म्याक्स गाडी चढेका थिए।
उनले जनप्रतिनिधिलाई राजा महाराजाकै जस्तो शैली अपनाउँदै गएको भन्दै आलोचना गरेका थिए।
‘राष्ट्रपतिज्यूको हेलिकप्टर चढ्ने रहर नै हो भने सबै जनता मिलेर पैसा उठाएर हेलिकप्टर किनौंला,’ उनले भने, ‘राजाहरू घोडामा सयर गर्थे, राष्ट्रपति हेलिकप्टर, मुख्यमन्त्री र मन्त्रीहरू महँगो गाडी चढ्छन्। जनप्रतिनिधि र राजामा के फरक भयो?’
प्रतिक्रिया