+
Search

ताजा अपडेट +

पपुलर +

वडाध्यक्षलाई अमेरिका जाने डिभी परेपछि…

4KNationalDaily
२०७६ श्रावण २२, बुधबार ०७:१९ बजे

काठमाडौं- एकताका डीभी–पीआर लिएकाले देशलाई माया गर्दैनन्, यसले राष्ट्रिय भावना घटाउँदै लगेकोले कर्मचारीलाई डीभी–पीआर निषेध गर्न आवश्यक देखिएको प्रसंग केन्द्रीय मन्त्रिपरिषद्मै चर्कोरुपमा उठेको थियो।

यसको असर परेको थियो– केही ठूला पदधारी सरकारी कर्मचारीलाई । उनीहरु सेवा छाड्न विवश भए।

यी त भए सरकारी कर्मचारीतर्फका कुरा । तर, मकवानपुरको एक गाउँपालिकाका जननिर्वाचित वडा अध्यक्ष नै डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) धारी भएर सपरिवार अमेरिका गएपछि नागरिक र सरकार र निर्वाचन आयोगले के अब गर्ला?

यसै प्रसंगमा मकवानपुरको भीमफेदी गाउँपालिका–८ का स्थानीयले वडाध्यक्षको उपनिर्वाचन गर्न भन्दै सोमबार जिल्ला निर्वाचन आयोग कार्यालयमा निबेदन दर्ता गराएका छन्।

वडाध्यक्ष जगत्मान घिसिङ डीभी परेर परिवारसहित अमेरिका गएपछि रिक्त वडा अध्यक्षमा उपनिर्वाचन गराउन निवेदन दिइएको हो। यो खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

इपापञ्चकन्याका स्थानीयले संयुक्तरुपमा वडा अध्यक्षको उपनिर्वाचन गराउन माग गर्दै निर्वाचन कार्यालय मकवानपुर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा निवेदन दर्ता गराएका हुन्।

वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष घिसिङ परिवारसहित अमेरिका उडेपछि स्थानीयको कामकारबाहीमा प्रभाव परेको भन्दै स्थानीयले उपनिर्वाचन गराउन निवेदन दिएका हुन्।

गाउँपालिका अध्यक्ष हिदम लामाले घिसिङले राजीनामा नदिएको दाबी गरे।

उनले भने, ‘वडा अध्यक्षज्यू पारिवारिक व्यवस्थापनका लागि मात्र जानुभएको हो । करिब एक महिनाभित्र उहाँ स्वदेश फर्किनुहुनेछ।’

‘घिसिङले कार्यको जिम्मेवारी दिएर जानुभएकोले जनताका काम रोकिएका छैनन्,’ गाउँपालिका अध्यक्ष लामाको दाबी छ । उहाँको दाबीलाई स्थानीय मान्न तयार छैनन् । भन्छन्– यसरी कानुनविपरीत पद रिक्त राख्न मिल्दैन।

स्थानीयले दिएको निबेदनमा भनिएको छ– ‘निर्वाचन ऐनअनुसार बढीमा ३ महिनासम्म कार्यवाहक दिन पाइने व्यवस्था रहेको बुझिएकोले ४ महिना नाघिसक्दा पनि आफूखुशी परिवारसहित उतै काम गरी बसेकोले छानबिन गरी मंसिर १४ गते हुने भनिएको उपनिर्वाचनमा पदपूर्ति गराउन आग्रह गर्दछौं।’ उपनिर्वाचनको सूचीमा मकवानपुर छैन।

एमालेबाट उठेका घिसिङले ५ सय १४ मत ल्याएर जितेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily