गोरखा- सिरानचोक गाउँपालिका–३ हर्मीमा नस्ल सुधारको लागि अनुदानमा बितरण गरेको उन्नत जातको बोका काटेर मासु भागबण्डा गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले भुकम्प पछिको जिविकोपार्जन कार्यक्रम अन्तरगत साविकको हर्मी गा.वि.स वडा नम्बर ८ का स्थानियहरुका लागि बाख्रामा नस्ल सुधार गर्न भन्दै गएको मंसिरमा बयर जातको उन्जत व्याड बोका बितरण गरेको थियो ।
समुहले सामुहिक रुपमा सेवा लिने गरि बितरण गरिएको उन्नत जातको बोका वडाध्यक्ष बिरबहादुर गुरुङ लगायत नै स्थानियहरु मिलेर काटेर मासु खाएका हुन् ।
‘स्थानिय प्रकाश अधिकारीले पालनपोषण गर्ने गरि रेडक्रसले अनुदानमा उपलब्ध गराएको बोका आज इलाका प्रहरी कार्यालय हर्मीको रहोवरमा काटेर मासु भागबण्डा गरिएको हो, वडाध्यक्ष गुरुङले भने, ‘घरधनी प्रकाश अधिकारी घर छोडेर हिडेपछि पालनपोषण गर्ने मान्छे नभएकाले बोका काट्नु परेको हो ।’
उनले घरधनी अधिकारीले धेरै ऋण लागेर बेपत्ता भएकाले घरमा उनको आमा भएको र बृद्ध आमाले पालनपोषण गर्न नसक्ने भएपछि मासु काटेर बिक्रि गरि आमा दिलमाया अधिकारीलाई पैसा बुझाइएको दावी गरे ।
‘करिव ४०/५० लाख जति नै ऋण लगाएर प्रकाश घर छोडेर हिडेपछि घरमा भएका अन्य बाख्रा, खसी, गाईभैसी पनि लिलाम गरि समुहको ऋण बुझायौँ’, उनले भने ‘अनुदानको बोका लिने मान्छे कोही नभएपछि मासु काटेर बिक्रि गरेका हौ ।’
वडाध्यक्ष गुरुङले मासु बिक्रिबाट १४ हजार ४ सय रुपैया जम्मा भएको र सवै रकम घरधनीलाई उपलब्ध गराएको दावी गरे । इलाका प्रहरी कार्यालय हर्मीको कम्पाउण्ड भित्रै अनुदानको बोका काटेरमा मासु भागबण्डा गरिएको स्थानियको भनाई छ ।
नेपाल रेडक्रस सोसाइटी गोरखाका सभापती भगवानबाबु मास्केले करिव ३२ हजार रुपैया बराबरको रकमबाट नस्ल सुधारका लागि गुल्मी अर्धाखाँचीबाट महंगो मूल्य तिरेर ल्याएर बोका काटेर मासु खानु गलत भएको बताए ।
‘३० हजार रुपैया बराबरको त हामी बोकाको बिमा नै गरिदिएका छौं, उनले भने, ‘पाल्न नसक्ने भएपनि हामी भनेको भए अर्र्को किसानलाई बितरण गथ्यौँ उनीहरुले हामीलाई खबर पनि गरेनन् ।’
सभापती मास्केले अनुदानमा समुहका लागि भनेर बितरण गरिएको व्याड बोका काटेर मासु खानु गलत भएको समेत बताए । रेडक्रसले साविकको हर्मी गा.वि.समा ९ वटै वडामा नस्ल सुधारका लागि भन्दै वयर जातको उन्नत व्याड बोका बितरण गरेको थियो ।
प्रतिक्रिया