गाेरखा- पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पालुङटारको मध्यभाग हुँदै विस्तार गर्न लागिएको प्रसारण लाईनका सन्दर्भमा सरोकारवालासँग छलफल गर्न उर्जा मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
पालुङटार नगरपालिकाको मध्यभाग हुँदै मस्र्याङदी करिडोरको प्रशारण लाइन विस्तार गर्न लागिएकोमा चिन्ता ब्यक्त गर्दै उनले उर्जामन्त्री बर्षमान पुनलाई सरोकारवाला निकाय र तिनै तहका जनप्रतिनिधि बीच संयुक्त परामर्श गरि निकास निकाल्न आग्रह गरेका हुन् ।
स्मार्ट सिटी घोषणा गरिएको नगरपालिकाको योजनाबद्ध विकासको लागि गुरूयोजना बनिनसक्दै आ-आफ्नै ढंगले मस्र्याङदी कोरिडोरको प्रसारण लाइन, मध्यपहाडी लोकमार्गको रेखांकन, पालुङटार एअरपोर्टको क्षेत्रनिर्धारण, घरजग्गा प्लटिंग आदि हुनु गम्भीर चिन्ताको विषय रहेको उनले फेसबुक स्टाटसमा लेखेका छन् ।
पालुङटार बजारको बिच भागबाट विद्युत विस्तार गर्न लागिएपछि स्थानीय बासिन्दाले पनि असन्तुष्टि जनाएका छन् ।
विद्युत विस्तार हुने क्षेत्रको १४ किलो मिटरको दायाँ बायाँ दुबैतिर ५०/५० मिटरमा कुनै पनि संरचना बनाउन नपाइने भएकाले स्मार्ट सिटिमा यस्ता काम गर्न नहुने जनप्रतिनिधीहरुले बताउदै आएका छन् ।
केहिदिन अघि गण्डकी प्रदेश सभामा पनि सांसदद्धय हरीशरण आचार्य र प्रकाशचन्द्र दवाडीले यो विषयप्रति गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया