गोरखा- गोरखा नगरपालिकाले वडा नं ८ प्रतिक्षालयदेखि खोलखोलेसम्म अतिक्रमण भएको फुटपाथ खाली गर्न भदौ १५ गतेसम्मको अल्टिमेटम दिएको छ ।
पिच सडकको दुबैतर्फ ३.५ मिटर क्षेत्र फुटपाथ भएकाले भदौ १५ गतेसम्म फुटपाथ खाली गर्न समयसीमा तोकेको नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले जानकारी दिए ।
‘घरको आँगन तथा ब्यबसाय सञ्चालनका क्रममा संरचना बनाएर फुटपाथ अतिक्रमण गरेको पाईयो’ उनले भने ‘त्यसैले नगरपालिकाले सर्वपक्षिय बैठकको आयोजना गरेर फुटपाथ खालि गर्न समय दिएको हो ।’
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको अध्यक्षतामा मंगलबार भएको सर्बपक्षीय बैठकले फुटपाथ खालि गराउन समयसीमा निर्धारण गरेको हो । बैठकले भदौ १५ गतेसम्म फुटपाथ खालि नगरे आबश्यक कारबाही गर्ने निर्णय पनि गरेको इन्जिनियर ढकालले बताए ।
बैठकले फुटपाथमा निर्माण सामाग्री तथा पसलका बोर्ड नराख्न स्थानिय बासिन्दा तथा ब्यबसायीलाई सचेत गराएको छ । फुटपाथ क्षेत्रमा बनेका अस्थायी तथा स्थायी संरचना हटाउन बैठकले सम्बन्धित घरधनीलाई निर्देशन दिएको छ ।
बैठकमा सहभागी स्थानीय बासिन्दाको माग अनुसार नै समय सिमा निर्धारण गरेको इन्जिनियर ढकालले जानकारी दिए ।
बैठकले आफ्नो क्षेत्रमा थुनिएको नाला सफा गर्न र साना ह्युमपाइप राखेर नालीमा अबरोध पु¥याई नालीको पानी सडकमा जाने अबस्थाको अन्त्य गर्न पनि सम्बन्धित घरधनीलाई आग्रह गरेको खबर दराैदी दैनिकमा छ ।।
नगरपालिकाले पटक पटक फुटपाथ अतिक्रमण हटाउन निर्देशन दिए पनि स्थानीयले अटेरी गर्दै आएका छन् । गत साउन १५ र २३ गते पनि नगरपालिकाको टोलीले अनुगमन गरेर फुटपाथ खाली गर्न निर्देशन दिएको थियो ।
तर अहिलेसम्म पनि धेरैजसोले फुटपाथ खालि नगरेकाले समय नै तोकेर निर्णय गरेको इन्जिनियर ढकालले जानकारी दिए ।
बसपार्कदेखि शहिदगेटसम्म यसअघि नै फुटपाथ निर्माण भएकाले अबको क्रममा शहिदगेटदेखि खोलखोलेसम्म दायाँबायाँ दुबैतर्फ पिच सडक छेउदेखि ३.५ मिटर फुटपाथ खालि गर्ने नगरपालिकाको योजना छ ।
फुटपाथ ब्यबस्थापन गर्न नसक्दा बजार क्षेत्रको सौन्दर्यता हराउनुका साथै पैदल यात्रुलाई हिड्ने ठाउँ नहुँदा दुर्घटनाको जोखिम रहेकाले फुटपाथ ब्यबस्थापनका लागि नगरपालिकाले प्रक्रिया सुरु गरेको हो ।
बैठकमा जनप्रतिनिधी, गोरखा नगरपालिकाका कर्मचारी, उद्योग वाणिज्य संघका प्रतिनिधी र स्थानीय बासिन्दाको सहभागिता थियो ।
प्रतिक्रिया