+
Search

ताजा अपडेट +

पपुलर +

लामो दूरीमा चल्ने यातायातमा दुई चालक अनिवार्य, नराखे गाडी मालिक र कम्पनीलाई कारबाही

4KNationalDaily
२०७६ भाद्र ६, शुक्रबार ०८:४८ बजे

काठमाडौं- सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा दुई चालक नराखे कारबाही थाल्ने भएको छ ।

सरकारले लामो दूरीमा चल्ने यातायातमा दुई चालक नराखी चलाएमा गाडी मालिक र कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

एक जना मात्र चालक हुँदा चालक थकान र निदाउनाले बस दुर्घटना बढेको भन्दै सरकारले नियम कार्यान्वयनमा कडाइ गर्न लागेको हो ।

यातायात व्यवस्था विभागले केही दिनअघि मात्र एक सूचना जारी गरी लामो दूरीमा दुई चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो ।

विभागले प्रस्थान बिन्दुबाट २५० किमि वा त्योभन्दा बढी दूरीमा चल्ने गाडीले अनिवार्य दुई चालक नराखेको पाइए सवारी धनी या कम्पनीलाई नियन्त्रणमा लिई कारबाही गर्ने जनाएको खबर टेनिस रोकाले राजधानी दैनिकमा लेखेका छन् ।

विभागले लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक भए/नभएको देशभर अनुगमन गर्ने र दुई चालक नराखेको पाइएमा कानुनी कारबाही गर्ने जनाएको छ ।

‘लामो बाटोमा सञ्चालन हुने सार्वजनिक सवारी सञ्चालकले ऐनको उपरोक्त प्रावधानको अनिवार्य रूपमा कार्यान्वयन गर्नु गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ ‘सोअनुसार गरेको नपाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बेहोरासमेत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने गाडीमा कम्तीमा दुई चालक अनिवार्य राखी प्रत्येक ६/६ घण्टामा पालैपालो चलाउनुपर्ने प्रावधान छ ।

सरकारले यसअघि पनि एउटै चालकले लामो दूरीमा गाडी चलाउँदा थकानका कारण दुर्घटना बढेको भन्दै नियमको कडाइ गरेको थियो । केही समययता भने लामो दूरीमा चल्ने यातायातमा दुई चालक भए नभएको बारे चेकजाँच प्रायः शून्यजस्तै छ ।

विभागले मध्यम दूरीमा गाडीका चालकलाई प्रत्येक ४ घण्टामा आधा घण्टा विश्राम दिने व्यवस्थालाई समेत कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily