काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको बताएका छन्।
शुक्रबार ललितपुरमा आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो सम्भावना औंल्याएका हुन्।
प्रचण्डले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औंल्याए।
‘कम्युनिस्ट नेता नै राजा महाराजा जस्ता हुँदै गएपछि राजा महाराजका विरुद्ध लडेका जनता यिनलाई पनि लखेट्नपर्छ भनेर उठ्न सक्छन्,’ प्रचण्डको भनाइ थियो, ‘संकेत चाहिँ कताकता त्यस्तै देखिन थालेको छ।’
मार्क्सवादलाई मार्गदर्शन बनाउनुपर्छ
प्रचण्डले मार्क्सवादलाई अक्षरश: पालना गर्नेभन्दा पनि मार्गदर्शन सिद्धान्तका रूपमा लिनुपर्ने बताएका छन्।
‘एउटा प्रवृति मार्क्सवाद, लेनिनवाद या द्वन्द्वत्मक तथा ऐतिहासिक भौतिकवादलाई एउटा धर्मशास्त्रको रुपमा बुझ्ने र त्यसमा जे लेखेको छ,’ उनले भने, ‘अक्षरशः पालनाभन्दा पनि त्यसलाई मार्गदर्शन बनाउनुपर्छ।’
उनले हिजोभन्दा आज कम्युनिस्टको अनुशासनको स्तर गिर्दै गएको समेत बताए। ‘कम्युनिस्टहरुमा वैचारिक विचलन आएको छ,’ उनको ठम्याइ छ, ‘सामूहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रित भएको महसुस भएको छ। यसलाई परिवर्तन गर्नुपर्छ।’
प्रतिक्रिया