+
Search

ताजा अपडेट +

पपुलर +

आँबुखैरेनीमा ‘साँस्कृतिक महोत्सव २०७६’ शुरु, शंकर भण्डारीले गरे उद्घाटन

4KNationalDaily
२०७६ भाद्र ६, शुक्रबार १८:४८ बजे

बिनोद श्रेष्ठ

तनहुँ – ‘विभिन्न जातजातिहरुको कला संस्कृति परम्परा, भेषभुषा संस्कारको पहिचान युवा जगतको अभियान’ भन्ने मूल नाराका साथ तनहुँको आँबुखैरेनीमा ‘आँबुखैरेनी साँस्कृतिक महोत्सव २०७६’ शुरु भएको छ ।

मिलन युवा समाज र आँबुखैरेनी कला केन्द्रको मुख्य आयोजना तथा आँबुखैरेनी भलिवल संघको सह–आयोजनामा साँस्कृतिक महोत्सव सुरु भएको हो ।

आँबुखैरेनी सैबोटेमा भाद्र ५ देखि भाद्र १७ गते सम्म सञ्चालन हुने महोत्सवको उद्घाटन पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गरेका हुन् ।

महोत्सवको उद्घाटन गर्दै पूर्वमन्त्री भण्डारीले गाउँपालिका भित्र लुकेर रहेका विभिन्न जातजातिको कला संस्कृतिलाई यस महोत्सवले उजागर गर्नमा सहयोग पुरयाउने बताउनुहुदै कला–संस्कृति जगेर्नाको लागि स्थानीय युवाहरुले गरेको कामको प्रसंशा गर्नुभयो ।

साथै उहाँले आँबुखैरेनीलाई एउटा सुन्दर, समृद्ध र व्यवस्थित गाउँपालिका बनाउनको लागि सधै साथ र सहयोग रहने प्रतिवद्धता समेत जनाउनुभयो ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, नेपाल निर्माण व्यवासयी संघ तनहुँका अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष बसुन्धरा घर्ती, आँबुखैरेनी क्याम्पस आँबुखैरेनीका ऋषि केसी लगायतले महोत्सवको सफल्ताको लागि कामना गरेका थिए ।

महोत्सव मूल समारोह समितिका संयोजक अभियान श्रेष्ठले गाउपालिका भित्र रहेका विभिन्न जातजातिहरुको कला संस्कृति जगेर्ना तथा उत्थान गर्नका निम्ति महोत्सवको आयोजना गरिएको बतानुभयो । भाद्र १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ सय ४६ स्टल छन् ।

१ लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा १ करोड भन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।

महोत्सवमा अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय जातजातिहरुको संस्कृति, खानाका परिकार, भेषभूषा, धार्मिक एवं पर्यटकीय स्थलको अवलोकन, डान्स आइडल, रमाइलो मेला, बाल उद्यान, भलिबल प्रतियोगिता आकर्षणका रुपमा रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily