पोखरा- पछिल्लो समय देशभरीका समयमा सौन्दर्य प्रतियोगिताहरु धेरै भइरहेको छ ।
पोखरामा मात्रै वर्षमा विभिन्न नामहरुबाट करीब २ दर्जन सौन्दर्य प्रतियोगिताहरु आयोजना हुँदै आएको छ ।
केही प्रतियोगिताहरुले युवतीहरुमा भएका प्रतिभाहरुलाई साँच्चै नै प्रस्फुटन गरेका छन् भने केही भने नामको मात्र हुने गर्छन्, जसले निरन्तरता पाउन सकिरहेको छैन ।
केहीले प्रतियोगिता सम्पन्न गरिसकेपछि विजेताहरुलाई पुरस्कार नै नदिने घटनाहरु पटक–पटक सञ्चारमाध्ममबाट सार्वजनिक भइरहेका हुन्छन् ।
तर यो सबै विवादबाट ‘मिस गण्डकी’ भने टाढै रहेर आफुलाई अब्बल सौन्दर्य प्रतियोगिताको रुपमा सावित गर्दै आइरहेको छ । गण्डकी प्रदेशलाई नै समेट्ने गरी आयोजना हुँदै आएको यो प्रतियोगितालाई प्रदेश कै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिताका रुपमा लिइन्छ ।
हरेक वर्ष जस्तै यो वर्ष पनि यो प्रतियोगितालाई निरन्तरता दिनका लागि छठौँ संस्करणको ‘मिस गण्डकी २०१९’ को अडिसन पोखरामा सम्पन्न भएको छ ।
एस.टी क्रिएशन म्यानेजमेन्ट प्रालिले आयोजना गरेको यो प्रतियोगितामा कुल २० जना मात्र अन्तिम प्रतिस्पर्धाका लागि छनौट हुनेछन् । पहिलो र दोस्रो अडिसनबाट १८ जना छनौट भइसकेका छन् ।
छनौट भएकाहरुलाई प्रतियोगिताको प्रशिक्षणका लागि भाद्र १२ गतेबाट सहभागी गराइने एसटी क्रियशनका निर्देशक इनिशा दुरा मगरले जानकारी दिएकी छिन् ।
दोस्रो अडिसनको निर्णायकमा मिस ट्राभल थर्टीसिक्सका म्यानेजिङ्ग डिरेक्टर, हेली एयर नेपालका डिरेक्टर तथा मोटिभेटर रिजन रिजाल, मिस गण्डकीका प्रमुख सल्लाहकार तथा डाफेँ होटल प्रालिका सञ्चालक बिनोद भुजेल, मिस गण्डकी सिजन ५ की फस्ट रनरअप स्नेहा गुरुङ, सेकेण्ड रनरअप प्रकृती श्रेष्ठ र एसटी क्रियशनका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर सुरज थापा लगाएत रहेका थिए ।
करीब एक महिनासम्म चल्ने विभिन्न प्रशिक्षणबाट सहभागीहरुले आत्मविश्वास, सामाजिक उत्तरदायित्व, व्यक्तित्व तथा नेतृत्व विकास, बोल्ने कला, सौन्दर्य तथा फेसन सम्बन्धी ज्ञान, आत्मनिर्भरता लगाएतका विषयमा सिक्न पाउने छन् ।
ग्राण्ड फिनालेमा आए.एफ.सी फेशन कलेजका सिर्जनशील ड्रेस डिजाइनरहरुद्धारा कलात्मक शैलीको पोशाकमा सजिने प्रतिस्पर्धीहरुलाई मिस नेपाल वल्र्ड २००५ सुगारिका केसी, मिस नेपाल इन्टरनेश्नल २०१७ नीति शाह, कलाकार तथा क्याप्टेन विजय लामा, चलचित्र क्षेत्रका चर्चित कलाकारहरु लगाएत पोखराका सम्बन्धी क्षेत्रमा दक्ष व्यक्तित्वहरुबाट प्रशिक्षण दिइने छ ।
प्रशिक्षणको अवधीमा प्रतिस्पर्धीहरुलाई आत्मविश्वास अभिवृद्धि गराउने हेतुले फोटोसुट, भिडियोसुट, अवलोकन भ्रमण, ट्राफिक सचेतना सम्बन्धी जानकारी, महिला शसक्तिकरण, सञ्चारमाध्यमको महत्वका विविध विषयमा प्रशिक्षण गराइने एस.टी क्रिएशन म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक सुरज थापाले बताएका छन् ।
गएका वर्षहरुभन्दा यस वर्ष थप गुणस्तरियता तथा व्यापकतालाई मध्येनजर गर्दै कार्यक्रमको गरिमालाई थप उचाईमा पु¥याउने लक्ष्य सहित कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
असोजको अन्तिम साता पाँचतारे होटलमा हुने फाइनल कार्यक्रममा विजेता हुने प्रतिस्पर्धीले हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधीको क्राउन सहित स्कुटर प्राप्त गर्ने छन् ।
त्यस्तै फस्ट रनरअपले नगद ७० हजार, सेकेण्ड रनरअपले नगद ५० हजार र थर्ड रनरअपले नगद २५ हजार सहित अन्य उपहार प्राप्त गर्ने प्रबन्ध निर्देशक थापाले जानकारी दिएका छन् ।
प्रतिक्रिया