+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : ५ लाख नगद धरौटी बुझाएर रवि लामिछाने रिहा

4KNationalDaily
२०७६ भाद्र ९, सोमबार १९:३४ बजे

काठमाडौं- पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा न्यायिक हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने रिहा भएका छन्।

लामिछाने धरौटीमा रिहा भएका हुन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यस्तै लामिछानेसहित पक्राउ परेका उनका सहकर्मी युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन् । त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपेर अनुसन्धान गरेको थियो ।

हिजो (आइतबार) देखि भएको तीन जनाको बयान र बहसपछि जिल्ला अदालतले आज (सोमबारं यस्तो निर्णय गरेको हो। जिल्ला सरकारी वकिल कार्यालयले लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्की ‘रूकु’लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान सकिएपछि थुन छेकको लागि मुद्दाको पक्षमा र विपक्षमा वकिलहरुले बहस गरेका थिए ।

आत्महत्या प्रकरणमा संलग्न भएको आरोपमा चितवन प्रहरी र काठमाडौँ प्रहरीको संयुक्त टोलीले सञ्चारकर्मी लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनको कार्यालयबाट साउन ३० गते साँझ पक्राउ गरेर चितवन ल्याएको थियो ।

अर्की आरोपित अस्मिता कार्कीलाई भने साउन २९ गते नै प्रहरीले काठमाडौँको कलंकीबाट पक्राउ गरेको थियो ।

पत्रकार पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

केही समय अघिसम्म पुडासैनी सिधा कुरा जनतासँग कार्यक्रमको टिममा थिए ।

चितवन प्रहरीका अनुसार र पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पाइएको पोष्टमार्टम रिपोर्टले देखाएको छ। २०७५ भदौ १ गतेदेखि कार्यन्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार मुद्दा प्रक्रिया अघि बढेको हो।

अदालतको अनुमति बिना विदेश जान नपाउने

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्दै आएका लामिछानेलाई विदेश जानु अघि जिल्ला अदालतको अनुमति लिनु पर्ने आदेश गरेको छ।

मुद्दाको फैसला नभएसम्मका लागि लामिछानेमाथि यो शर्त राखिएको हो। मुलुकी फौजदारी संहिताको दफा १८५ को आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा रविसहित ३ जना विरूद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

कार्यक्रम चलाउन पाउने, आत्महत्या प्रकरणबारे बोल्न नपाउने

लामिछानेलाई अदालतले पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने फैसला सुनाएकोे छ।

रविले आफ्नो कार्यक्रम चलाउन पाउने भए पनि अदालतमा विचाराधीन मुद्दा भएकाले त्यसबारे बोल्न नपाउने भएका हुन्।

न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसँग जिल्ला अदालत चितवनले ५ लाख धरौटी लिई रिहा गर्न आदेश दिँदै यो प्रकरणबारे बोल्न नपाउने गरी सिधा कुरा जनतासँग कार्यक्रम चलाउन दिने निर्णय गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily