+
Search

ताजा अपडेट +

पपुलर +

‘पोइ पर्‍यो काले’ गीतमा पूजा र आकाशको रोमान्स

4KNationalDaily
२०७६ भाद्र ११, बुधबार ०८:१८ बजे

काठमाडौं- सौगात मल्ल, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ र आकाश श्रेष्ठले पहिलो पटक स्क्रिन साझेदारी गरेको यस वर्षको बहुप्रतिक्षीत चलचित्र मध्ये एक ‘पोइ पर्‍यो काले’ आउँदो कात्तिक ८ गतेबाट प्रदर्र्शनमा आउँदैछ ।

दर्शकले रुचाएको कलाकारहरुको ठूलो भीड भएका कारण यो चलचित्र दर्शकमाझ निकै प्रतिक्षित छ ।

शिशिर राणा निर्देशित चलचित्रको हालै शिर्ष गीत खिचिएको छ, बालाजुमा रहेको चलचित्र विकास कम्पनीको स्टूडियोमा ।

उक्त स्टूडियोभित्र भव्य सेट लगाएर फिल्मको गीत खिचिएको हो । गीतमा चलचित्रका प्रमुख कलाकार सबैलाई स्थान दिइएको छ ।

रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांकन रहेको गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर र नृपेश उप्रेतीको शब्द छ ।

अभिनेत्री पूजाले यो गीत चलचित्रभित्र एउटा पुजामा घन्किने बताइन् । चलचित्रमा उनको जोडी सौगात हुन् वा आकाश भन्नेमा अन्योलता कायम छ ।

उनी पनि यसको खुलासा फिल्म हेरेपछि हुने बताउँछिन् । निर्देशक राणाकै लेखन रहेको चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।

चलचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई चलचित्रकी कार्यकारी निर्माता हुन् । यस चलचित्रको मूल कथा सौगातको वरिपरि घुमेको छ ।

सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेललगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । अभिनेता सौगातले चलचित्रलाई कमेडी कथामा निर्माण भएको बताए ।

चलचित्र हेर्दा दर्शकले पूर्ण मनोरञ्जन लिने उनको भनाई छ । नायिका श्रृष्टि फिल्ममा पूजाको साथीको भूमिकामा छिन् । उनले चलचित्रको पुरा अवधि आफू नदेखिएपनि दर्शकले भूमिकालाई मन पराउने दाबी गरेकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily