ललितपुर- समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गाई र राजालाई बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाइरहेको प्रतिक्रिया दिएका छन्।
समाजवादी पार्टीको प्रदेश ३ समायोजन कार्यदलले शनिबार ललितपुरमा आयोजना गरेको पार्टी समायोजन कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई राप्रपा, कांग्रेस र सत्तारुढ दलमाथि आक्रमक रुपमा प्रस्तत भए।
उनले राप्रपालाई राजतन्त्रको भूत, कांग्रेसलाई बृद्ध र सत्तारुढ नेकपालाई भ्रम छरेर बाँचिरहेको पार्टी भएको आरोप लगाए।
‘राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो, त्यसले तपाईंहरुले देख्नुभयो आफ्नै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट गुल्ट्याएर गाईलाई मारिरहेको छ, यस्तो पाखण्ड’, उनले भने, ‘७० वर्षभन्दा पुरानो नेपाली कांग्रेस खोच्याउँदै खोच्याउँदै अगाडि हिंडिराखेकै छ। झण्डै ७० वर्षदेखिका विभिन्न कम्युनिस्ट घटकहरु मिलेर नेकपा डबल बनेको छ। त्यसले पनि जनतालाई साम्यवादको सपना देखाएर जनतालाई भ्रम छरिराखेकै छ।’
अध्यक्ष भट्टराईले पुराना दलहरुले जनतालाई भ्रम छर्दै ठगिरहेको आरोप लगाए। ‘एउटाले लोकतन्त्रको नाममा जनतालाई ठगिराखेको छ।
अर्कोले साम्यवादको नाममा नेताहरुले आफ्नो महल ठड्याएर विभिन्न देशमा परिवारसहित लाखौं खर्च गरेर भ्रमण गरेर बिताएका छन्’, उनले भने, ‘अर्कोले धर्मको पाखण्ड देखाएर त्यस्तो अपराध गरिरहेका छन्। यस्ता पुराना शक्तिहरुको युग अब समाप्त भयो।’
अध्यक्ष भट्टराईले नेपाली जनता पुराना दलहरुको पाखण्डबाट मुक्त हुन चाहिरहेको दावी गर्दै समाजवादी पार्टी विकल्प बनेर आएको बताए।
‘जनताले चाहेको विकल्प दिनको लागि २१औं शताब्दीको नयाँ विज्ञानमा आधारित विचार, त्यसको आवश्यकता सुहाउँदो नीति तथा कार्यक्रम लिएर समाजवादी पार्टी उपस्थित भएको छ’, उनले भने।
अध्यक्ष भट्टराई उपस्थित कार्यक्रममा समाजवादी पार्टीले पहिचानमा आधारित पार्टी संचरनाको अभ्यास सुरु गरेको छ। उक्त पार्टीको विधानअनुसार अभ्यास गरिएको पहिचानमा आधारित राष्ट्रिय समितिको अवधारणाअनुरुपको संगठनात्मक संरचनाको अभ्यास सुरु गरेको हो।
शनिबार ललितपुरमा पार्टीको प्रदेश ३ समायोजन कार्यदलले आयोजना गरेको कार्यक्रममा प्रदेश ३ समिति, नेवाः राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति र शिल्पि विशेष प्रदेश समिति घोषणा गरिएको छ।
त्यस्तै जातीय संगठनहरु समाजवादी तामाङ सङ्घ र समाजवादी नेवाः संघ घोषणालगत्तै पार्टीका अध्यक्ष भट्टराईले नयाँ नेतृत्वलाई शपथ पनि गराएका छन्।
‘संघीयता, सुशासन, समृद्धि र समाजवादलाई मुल लक्ष्य बनाएको समाजवादी पार्टीले पहिचानमा आधारित राष्ट्रिय समितिको अवधारणामा संगठन बनाउने नीति लिएको पार्टीका केन्द्रीय सदस्य रोशन पोखरेलले जानकारी दिए।
कार्यक्रमबाट प्रदेश ३ को नेतृत्वमा सोनामसिङ स्याङ्तान छानिएका छन्। ११ सदस्यीय सचिवालय समेत बनाइएको प्रदेश पार्टीको मुख्यसचिवमा मोहन बराइली चयन भएका छन्।
नेवाः राष्ट्रिय समितिको अध्यक्षमा मनरत्न शाक्यले जिम्मेवारी पाएका छन्। ताम्सालिङ राष्ट्रिय समितिको अध्यक्षमा कृष्णकुमार घलान र मुख्यसचिवमा वीरबहादुर तामाङले जिम्मेवारी पाएका छन्।
त्यसैगरी शेर्पालुङ राष्ट्रिय समन्वय समितिको संयोजकमा दावा छिरिङ शेर्पाले जिम्मेवारी पाएका छन्।
उनी तत्कालीन संघीय समाजवादी फोरमका नेता हुन्। तत्कालीन नयाँ शक्तिबाट नेतृत्व छनौट भइनसकेको जनाइएको छ।
शिल्पी विशेष प्रदेश समितिको संयोजक दलमर्दन कामी र दानबहादुर नेपाली मुख्यसचिव बनेका छन्। समाजवादी नेवाः संघमा अध्यक्षमा सत्यनारायण डंगोल र महासचिवमा सुरेश खड्गी चयन भएका छन्।
समायोजन कार्यक्रममा वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष नवराज सुवेदी लगायतका नेताहरु उपस्थित थिए।
नेपालखबरबाट साभार
प्रतिक्रिया