+
Search

ताजा अपडेट +

पपुलर +

नेपाललाई पराजित गर्दै पाँचौँ संस्करणकाे साफ च्याम्पियनसिप उपाधि भारतलाई

4KNationalDaily
२०७६ भाद्र १४, शनिबार २०:४७ बजे

काठमाडौं- भारतले नेपाललाई पराजित गर्दै पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको उपाधि हात पारेको छ ।

भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा आज भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

यू–१५ मा नेपालले अहिलेसम्म च्याम्पियन हुनसकेको छैन ।  त्यस्तै यससँगै तेस्रोपटक फाइनल पुगेको नेपाललाई उपाधि जित्न फेरि पनि भारत नै तगारो बन्यो ।

यसअघि सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल दुवैपटक भारतसँग नै पराजित भएको थियो । त्यतिबेला उक्त च्याम्पियनसिप यू–१६ का नाममा हुने गर्दथ्यो ।

नेपालले खेलको पहिलो हाफमा तीन गोल खायो भने खेलको दोस्रो हाफमा चार गोल खायो । भारतको जितमा महेसन सिंहले खेलको १५औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाए ।

त्यस्तै खेलको ४१औँ मिनेटमा मन्दिप माकेसले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए भने खेलको पहिलो हाफको अत्तिरिक्त समयमा शिवजित सिंहले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए ।

त्यस्तै खेलको टैसन सिंहले खेलको ५२औँ मिनेटमा गोल गरे भने हिमांशु जनगराले खेलको ६५औँ मिनेटमा गोल गरे । भारतका अर्का खेलाडी सिदार्थ नोङमेइकपामले दुई गोल थपे । उनले खेलको ७६ र ८०औँ मिनेटमा दुई गोल गरे ।

राउण्ड रोबिन लिगको आधारमा भएको उक्त प्रतियोगितामा नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो भने भारत शीर्षस्थानमा रहेर फाइनल पुगेको हो ।

प्रतियोगिताको पहिलो खेलमा पनि नेपाललाई भारतले ५–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भूटानलाई ६–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily