काठमाडौं- पशुपति मन्दिरमा सर्लाही हरिपुरकी रिनादेवी साहले भाकल गरिन्, ‘भगवान हमरा न्याय दिय । हमर मनोकामना पूरा होयत त नरिवल चढायब ।’ यसरी न्यायको याचना गर्दै भाकल गरेको डेढ वर्ष भइसक्यो ।
तर उनको पुकार पूरा भएको छैन । त्यसैले उनी सर्लाही, महोत्तरी र रौतहटका आफूजस्तै मिटर ब्याजपीडित ५३ जनासँग फेरि काठमाडौं आइन् ।
माइतीघर मण्डलामा प्रदर्शनमा सामेल भइन् । शुक्रबार सिंहदरबार गएर गृहमन्त्री रामबहादुर थापालाई भेटिन् । सरकार हाँकिरहेको दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालसमक्ष पनि याचना गरिन् । तैपनि उनका आँखा ओभाएका छैनन् ।
रिनादेवीका कथा सर्लाही र आसपास जिल्लाका धेरैका निम्ति नयाँ होइन ।
०७४ पुस दोस्रो साता काठमाडौंको ठिही झेल्दै सर्लाहीको जब्दी, पिपरियालगायत ठाउँका ३० महिलासहित ३६ जना न्यायको खोजीमा काठमाडौं आएका थिए । एक साता भौंतारिएर उनीहरू रित्तो हात फर्किएकाे खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्। ।
यो डेढ वर्षको अवधिमा उनीहरूले न्याय त पाएनन् नै, आफ्नो पीर गम्भीरतासाथ सुनिदिनेसमेत कोही भेटेनन् ।
न्यायप्रणाली, प्रशासन र विधिलाई कागजी खेलको भरमा आफ्नो हातमा लिँदै मिटर ब्याजको धन्दा चलाइरहेका सर्लाहीका श्याम प्रदेशी भन्ने श्यामकृष्ण साहले उनीहरूलाई निरन्तर धम्क्याइरहे । फर्जी कागजका भरमा उनीहरूविरुद्ध मुद्दा–मामिला गर्दै अदालतबाट पक्राउ पुर्जी जारी गराइराखे ।
सावा अक्षरसम्म नचिन्ने रिनाको हैरानीको कथा ०७२ असोज पहिलो साता सुरु भएको थियो । श्रीमान् प्रमोद मलेसिया जाने भएपछि उनलाई स्थानीय एजेन्टलाई बुझाउन ५० हजार रुपैयाँ चाहिएको थियो । पाठेघरको उपचारका लागि आफैंलाई पनि केही पैसा खाँचो परेको थियो ।
गाउँलेले उनलाई सजिलै ऋण दिने साहु भनेर चिनिएका श्याम प्रदेशीकहाँ जान सुझाए । श्यामले दुई लाख ९० हजार रुपैयाँ ऋण दिने भए । तर अरूलाई जस्तै ऋण दिएबापतको कमिसन भन्दै श्यामले तीस हजार आफैं राखे ।
२ लाख ६० हजार दिएर २ लाख ९० हजारकै कागज गराए । त्यतिले मात्रै नपुगेर श्यामले उनका श्रीमान्, सासू र दिदीका नाममा पनि ऋण लिएको फरक–फरक ७ वटा कागजमा हस्ताक्षर गराए ।
श्रीमान् मलेसिया पुगेर धेरथोर कमाउन थाले । जति श्रीमान्ले कमाएर पठाउँथे, सबै रिनाले साहुलाई बुझाउँथिन् । रिनाको ख्यालमा उनले बारम्बार गरेर ४ लाख ५० हजार रुपैयाँ बुझाइसकेकी छन् । श्रीमान्ले पठाएको रकमले नपुगेर भएको जम्मा १० धुर घडेरी पनि ऋण तिर्नकै लागि बेचिन् ।
जति पटक रकम तिर्दा पनि श्यामले पैसा घटेको हिसाब देखाएनन् । बरु ब्याजमा स्याज जोड्दै साँवा रकम बढाइरहे । श्रीमान् मलेसियाबाट फर्किंदा उनीसँग न रकम जोगाड थियो न ऋण घटेको थियो । श्यामले उल्टै १४ लाख तिर्न बाँकी रहेको कागज देखाए ।
त्यतिले नपुगेर एकदिन आफ्नो घर बोलाई रिनालाई अर्को कागजमा औंठाछाप गर्न लगाए । उनले पछि थाहा पाइन्, उक्त कागजमा ९० लाख ऋण लिएको ब्यहोरा रहेछ ।
आँखाको डिलभरि आँसु बनाएर भासिएको स्वरमा उनले सुनाइन्, ‘एकदिन त १२ वर्षकी केटी खोजेर ल्याइदे, अनि बल्ल तेरो ऋणको कागज फिर्ता गर्छु भन्यो ।’ वाक्यको अन्तिम शब्द निस्कने बेला उनको आँसु चिउँडो हुँदै झरिसकेको थियो ।
पछिल्लो पहल
श्याम प्रदेशीको ठगी धन्दाबारे जिल्ला प्रहरी कार्यालय, प्रदेश २ को प्रदेश प्रहरी कार्यालयदेखि गृह मन्त्रालय र सरकार हाँकिरहेका दलका उच्चपदस्थ नेताहरू जानकार छन् ।
नेकपा प्रदेश कमिटी सदस्य कमल बुढाथोकीले प्रदेशीबाट सयौं निरक्षर र दलित गरिब हरिकंगाल बनेको बताए । उनले मिटरब्याजको यस्तो धन्दाबारे गत फागुनमा नेकपा अध्यक्ष दाहाल सर्लाही आएका बेलासमेत जानकारी गराएको बताए।
गत फागुनमा सर्लाहीको मुर्तियामा लागेको महोत्सवमा सहभागी हुन पुगेका गृहमन्त्री रामबहादुर थापालाई पनि दलका प्रतिनिधि र पीडितले ठगीको चंगुलबारे जानकारी गराएका थिए ।
बुढाथोकीका अनुसार श्यामले एक जनासँग १९ वटासम्म कपाली तमसुकको कागज गराएको बताए ।
उनका अनुसार श्यामबाट १ सय ५० जनाले १ करोड ९ लाख ५ हजार ऋण लिएको देखिएको र उनीहरूले विभिन्न मितिमा साँवा र ब्याजसहित १ करोड ४७ लाख तिरिसकेको देखिँदा पनि श्यामले अझै साढे सात करोड तिर्न बाँकी रहेको कागज देखाइरहेको बताए ।
नेकपा नेता नारायणकाजी श्रेष्ठले पनि मिटरब्याजको पासोमा परेकाको कथा सुनेपछि उनीहरूलाई न्यायको पहल गर्न सकिन्छ कि भनेर पहल थालिरहेका छन् ।
शनिबार पीडितहरू बसिरहेको गौशालाको एक होटलमा भेटिएका श्रेष्ठले पीडितको कथा सुनेपछि भने, ‘यो त सहनै नसक्ने खालको अन्याय भइरहेको छ । जनता अन्याय सहेर रुँदै बाँचिरहेका छन् भने हामीले राजनीति गर्नुको अर्थ के रह्यो र ?’
श्रेष्ठकै पहलमा पीडितले केही दिनअघि नेकपा अध्यक्ष दाहालको निवासमै पुगेर पीडा सुनाएका थिए । श्रेष्ठकै पहलमा पीडितले गृहमन्त्री थापालाई पनि घटनाबारे बताएका छन् ।
श्रेष्ठले यस्तोखाले अन्याय र शोषण जनताले सहिराख्नुपर्छ भने हामीले सरकार बनाएको, राजनीतिमा लागेको के अर्थ भयो भन्ने प्रश्न गरे । उनले भने, ‘यो त आर्थिक ठगी मात्रै होइन, महिलामाथि घृणित व्यवहार गर्ने र सामाजिक–न्यायिक प्रणालीलाई कागजी खेलका भरमा हात लिने कुराको नांगो उदाहरण हो।’
प्रतिक्रिया