काठमाडौं- चिनियाँ ह्याकरले बैंकको परिचय नम्बर (बीआईएन) तथा एटीएम कार्ड प्रयोग गरी नेपालका पाँच बैंकबाट तीन करोड ४४ लाख झिकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
भारतीय एसबिआई बैंकको एटीएमबाट एक करोड ७६ लाख तथा नेपाली बैंकको एटीएमबाट एक करोड ६८ लाख निकालेका हुन्। नेपालमा नेपाल एसबिआई, नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम बुथ प्रयोग भएको खुलेको छ।
यो घटना अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठित कमिटी स्रोतले सबैभन्दा बढी प्रभु बैंकको बीआइएन नम्बर प्रयोग गरी दुई करोड ४३ लाख निकालेको जनायो।
त्यस्तै, ग्लोबल बैंकको ३८ लाख, सनराइज् बैंकको २४ लाख, माछापुच्छ्रे बैंकको २० लाख र एनआईसी एसिया बैंकको १७ लाख रकम झिकिएको खबर आजको नयाँ पत्रिकामा टेकराज थामी र विजयराज खनालले लेखेका हुन्।
‘अहिलेसम्म भारतको एटीएमबाट भारु एक करोड पाँच लाख र नेपाली बैंकका एटीएमबाट एक करोड ७६ लाख निकालिएको खबर छ,’ कमिटी संयोजक मिश्रले भने, ‘भारत र नेपालमा गरेर २५ सयभन्दा बढी पटक कार्ड घोटेर रकम झिकिएको देखिन्छ ।’ कमिटीले मंगलबारसम्म प्रतिवेदन तयार गरिसक्नुपर्ने जिम्मेवारी पाएको छ।
एउटा बैंकको कार्ड तथा बीआईएन नम्बर प्रयोग गरेर अर्को बैंकको एटीएम बुथबाट रकम झिकिएकाले झिकिएको रकमको दायित्वको विषयमा भने अझै द्विविधा छ।
कार्ड तथा बिआइएन नम्बर प्रयोग भएका बैंक र झिकिएको रकम
प्रभु बैंक – २ करोड ४३ लाख
ग्लोबल आइएमई बैंक – ३८ लाख
सन्राइज बैंक – २४ लाख
माछापुच्छ्रे बैंक – २० लाख
एनआइसी एसिया – १७ लाख
प्रतिक्रिया