काठमाडौं- सार्वजनिक बसबाट सडकमा फोहोर फालेमा पाँच हजारसम्म जरिमाना हुने भएको छ।
बसमा असभ्य तथा अमर्यादित भाषा प्रयोग गरेमा पनि ५ हजारसम्म जरिमाना हुने भएको छ। नक्कली परिचयपत्र देखाएर सुविधा प्रयोग गर्न खोजेमा पनि अब कारबाही हुने भएको छ।
संसद्मा छलफलका क्रममा रहेको काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।
सरकारले सार्वजनिक यातायातभित्र सहचालक, चालक तथा यात्रुसँग अमर्यादित भाषाको प्रयोग गरे १ देखि ५ हजारसम्म जरिमानाको व्यवस्था छ।
सार्वजनिक बसमा यात्रुसँग अमर्यादित भाषा प्रयोग गरेमा पनि चालक तथा सहचालकलाई पनि ५ हजारसम्म जरिमाना हुने भएको छ।
सार्वजनिक यातायातभित्र ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिका तथा यात्रुसँग अमर्यादित व्यवहार गरेमा १ देखि ५ हजारसम्म जरिमानाको व्यवस्था छ ।नक्कली कार्ड देखाएमा पनि ५ हजारसम्म जरिमाना हुने भएको छ।
विधेयकको दफा १५ को (क) मा नपाउने सुविधा लिन प्रयत्न गरे कारबाही हुने व्यवस्था राखिएको हो । सार्वजनिक यातायातमा तोकेको भाडा नतिरी यात्रा गरे वा भाडा तिर्न अस्वीकार गरेमा पनि कारबाही हुने व्यवस्था छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघीय संसद्मा दर्ता गरेर हाल राष्ट्रिय सभामा छलफलमा रहेको विधेयकमा बसबाट सडकमा फोहोर फालेमा कारबाहीको व्यवस्था गरिएको हो।
विधेयकको दफा १५ को (ङ) मा सार्वजनिक यातायातमा फोहोर गर्ने तथा सार्वजनिक सवारीबाट सडकमा फोहोर फालेमा १ देखि ५ हजारसम्म जरिमाना हुने व्यवस्था छ । सार्वजनिक यातायातमा क्षति पु¥याउनेलाई पनि सजायको व्यवस्था गरिएको छ।
प्रतिक्रिया