गाेरखा- १६ किलो सुन सहित पक्राऊ परेका गोरखा केरौंजाका धनकमल गुरुङविरुद्ध राजस्व अनुसन्धान विभागले ३५ करोड रुपैया जरिवाना मागदावी गरेको छ ।
गत साउन ९ गते १६ किलो सुन सहित पक्राऊ परेका धार्चे गाऊँपालिका केरौंजाका गुरुङविरुद्ध ३५ करोड ६६ लाख ७२ हजार रुपैया जरिवाना गर्न माग गरिएको हो ।
विभागले सुन तस्करी सम्बन्धी अनुसन्धान सकेर मिसिल र अभियोगपत्र मंगलवार जिल्ला अदालत गोरखामा पठाएको हो ।
‘हालसम्मको अनुसन्धानको सम्पूर्ण मिसिल र अभियोग पत्र प्राप्त भएको छ’ जिल्ला अदालतका श्रेस्तेदार विनोदप्रसाद अधिकारीले भने, ‘प्रतिवादीविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन सम्बन्धी मुद्धा दर्ता गरिएको छ ।’
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता गराएको हो ।
‘राजस्व छलेर करोडौं मूल्य पर्ने सुन आयात गरिएको पाइयो’ सुन प्रकरणको अनुसन्धान अधिकृतको रुपमा काम गरेका विभागका निर्देशक रामप्रसाद रेग्मीले भने, ‘अनि त्यही सुन किन्नका लागि नेपाली पैसा विनिमय परेर अवैध रुपमा चीन पठाइएको पाइयो, त्यसैले दुबै ऐन आकर्षित भए ।’
प्रतिवादी गुरुङलाई आर्थिक जरिवाना सहित ६ वर्ष कैद सजायँ हुन पनि राजस्व अनुसन्धान विभागले माग गरेको छ ।
बरामद भएको सुनको मुल्य ८ करोड ९१ लाख ६८ हजार रुपैया कायम भएको छ । त्यसलाई विगो मान्दा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३३ अनुसार गुरुङले विगोको दुई गुणा जरिवाना र ३ वर्ष कैद सजायँ भुक्तान गर्नुपर्ने राजस्व अनुसन्धान विभागको माग छ ।
यस्तै विदेशी विनियम नियमित गर्ने ऐन २०१९ को दफा १७ अनुसार विगोको ३ गुणा सजायँ र थप ३ वर्ष कैद हुनुपर्ने विभागको अनुसन्धानको निचोड रहेको रेग्मीको भनाई छ ।
प्रतिवादी धनकमल गुरुङले वयानमा लोप्साङ लामा भन्ने ब्यक्तिबाट आफूले सुन लिएको बताएका छन् ।
‘आफूलाई कम सजायँ होस् भनेर उनले लामाको नाम लिएका पनि हुन सक्लान्’ उनले भने, ‘तर उनको वयानका आधारमा तीन पुस्ते सहित यकिन ठेगाना खुली आएमा लोप्साङ लामा विरुद्ध पूरक अभियोग लगाई अनुसन्धान गरिनेछ ।
हामीले प्रहरीमार्फत बुझ्दा थुप्रै लोप्साङ लामा भेटिए ।’ राजस्व अनुसन्धान विभागले वरामद भएको सुन जफत र सुराकी तथा अनुसन्धान तहकिकातमा संलग्नलाई पुरस्कृत गर्न पनि अभियोगपत्रमा उल्लेख गरेको खबरकाे अाजकाे दराैंदी दैनिकमा किरण लोहनीले लेखेका छन् ।
गत साउन ९ गते बिहान गोरखाको धार्चे गाऊँपालिका ३ उहियाको ओडारबाट १६ किलो सुन बरामद भएको थियो ।
जिल्ला प्रहरी कार्यालय गोरखाले सुन सहित मुख्य आरोपित धनकमल गुरुङलाई साउन १० गते राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।
विभागले एक महिना भन्दा बढी समय लगाएर अनुसन्धान पूरा गरी जिल्ला अदालत गोरखामा मुद्धा दर्ता गरेको हो ।
विभागले पठाएको अभियोगपत्र अनुसार प्रतिवादी धनकमल गुरुङसँग मंगलवारै बयान गरिएको जिल्ला अदालतका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले बताए । वुधवार थुनछेक आदेश हुनेछ ।
प्रतिक्रिया